चितवनको क्यान्सर अस्पतालमा सम्पूर्ण शय्या निः शुल्क

चितवन, १३ भाद्र । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या ९बेड० निः शुल्क गरिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निः शुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष ९आइसीयू०, पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल ९साधारण० शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो । पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निः शुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । यसमा तीन सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निः शुल्क उपलब्ध गराउँदै आएको छ ।

बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ । अस्पतालको तर्फबाट एक महिलासहित दुई चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिनुभयो ।

लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु”, अस्पताललाई सुधार्ने प्रतिबद्धता उहाँको छ ।

पौडेलले अस्पतालमा आएका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्था गर्ने बताउनुभयो । अस्पताल आएका बिरामीलाई विवेक प्रयोग गर्न चिकित्सक कर्मचारीलाई उहाँले आग्रह गर्नुभएको छ । मङ्गलबार पदभार गर्दै अस्पतालका चिकित्सक कर्मचारीलाई उहाँले भन्नुभयो, “अरु केही गर्नै पर्दैन, विवेक प्रयोग गर्नुहोस् । तपाईँसँग ज्ञान, सीप र बुद्धि छ । बिरामीले तपाईँलाई भगवान् भनेर जानेछन् । भगवानको रुप तपाईँहरू बन्नुपर्छ ।”

उहाँले भन्नुभयो “उपचारका सबै प्रक्रिया यथाशीघ्र छिटोछरितो उपलब्ध गराउने काममा लागिपर्ने छु । यसको अनुभूति बिरामीले केही महिनामा पाउनु हुनेछ ।”

व्यवस्थित नागरिक वडापत्र, सुझाव पेटिका र सूचना केन्द्र स्थापना गर्ने सङ्कल्प गर्दै उहाँले अस्पताल सेवालाई चुस्त दुरुस्त बनाई स्तरोन्नति गर्नेसमेत सङ्कल्प गर्नुभयो । कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो, “ओपिडीलाई व्यवस्थित गर्ने, भएका सबै सेवालाई चलाउने, थप नयाँ सेवा प्रदान गर्ने मेरो योजना छ ।”

क्यान्सर रोगको नियन्त्रणका क्षेत्रमा योजनाबद्ध कार्यक्रम तयार गरी सातवटै प्रदेशमा क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै उहाँले क्यान्सर रजिष्ट्रेशनका कार्यक्रमलाई अझै वैज्ञानिक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरको अनुसन्धानलाई थप प्रभावकारी बनाउनेछु ।” रासस