संस्कृतविद् डा जगमान गुरुङलाई विश्व हिन्दु महासंघको ‘नेपाल ऋषि’ उपाधि

काठमाडौँ , १३ भाद्र। विश्व हिन्दु महासंघले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो ।

समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो ।

सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । उनले नेपालको सद्भाव कायम राख्न र्‍याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको विचार राखे । नेपाल आध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचित भएको भन्दै त्यसको अध्ययनमा लाग्न सुझाए ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जबराले मात सिता र बुद्धको देश भएको भन्दै नेपालको सद्भावलाई कसैले खलल पुर्‍याउन नसक्ने बताए । उनले ठूला पार्टीले भ्रष्टाचार र घुसखोरीले देश दूषित बनाएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा विश्व हिन्दू महासंघका उपाध्यक्ष एवम् पूर्वमन्त्री दीनबन्धु अर्यालले नेपालमा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न सबै लाग्नु गर्ने धारणा राखे ।