भरतपुरको माटोमा उच्च अम्लियपना

भरतपुर, १५ श्रावण । भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ । महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो ।

महानगरको वडा नम्बर १, ४, ५, ६, १३, १४, १५, २४, २५, २६, २७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताए । उनले भने “कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छाँै ।” उनका अनुसार माटोमा भएका अम्लियपना ६ दशमलब ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लियपना बढी भएको मानिन्छ । महानगरको माटोमा ५ दशमलब ५ प्रतिशत रहेको उनले बताए ।

अम्लियपन देखिएको माटोमा बिरूवाको वृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरूवाले सजिलै खाद्यत¤व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताए । उनले भने, “अम्लियपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन ।” रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसियम कम हुँदा माटोमा अम्लियपना बढ्ने गर्दछ । भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ ।

यहाँ विभन्न प्रकारका कृषि कर्म हुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्रसमेत बनाएर काम गर्दै आएको छ । रासस