सञ्चालनको तयारीमा ज्योतिनगरको कालाबञ्जर शिशै सामुदायिक होमस्टे

ज्योतिनगर, १६ भाद्र । भरतपुर महानगरपालिका–२६, शिशैमा कालाबञ्जर शिशै सामुदायिक होमस्टे निर्माण सञ्चालनको तयारीमा रहेको छ । आदिवासी थारु जातिको संस्कृति, परम्परा, रहनसहन प्रदर्शनका साथै स्थानीयस्तरमै उत्पादित अर्गानिक खानेकुरा खुवाएर पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको हो ।

शिशैमा अहिले दुई घरधुरीले होमस्टे तयार गरेर सञ्चालनको तयारीमा छन् भने एउटा तयारी हुने क्रममा छ । स्थानीय रामप्रसाद महतो र टंकनारायण महतोको होमस्टे तयार छ भने रामलाल महतोको होमस्टे तयारी हुने क्रममा रहेको छ ।
उपयुक्त समय हेरेर होमस्टेको उद्घाटन गरिने कालाबञ्जर शिशै सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए । साथै अन्य पाँच घरधुरी थपिने क्रममा रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२६ वडा कार्यालयले होमस्टे निर्माणका लागि दिएको १२ लाख बजेटले आवश्यक संरचना तयार गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले जानकारी दिए । ‘तीनवटा होमस्टे तयार भएको छ, केही समयभित्रै हामी पर्यटकलाई स्वागत गर्छौं’, चौधरीले भने ।

अघिल्लो वर्षसम्म जब वर्षात्को समय आउँथ्यो तब नारायणी सुसाएसँगै शिशैवासीहरुलाई निद्रा पर्दैनथ्यो । नदीको सतह बढेसँगै उनीहरु छट्पटाउँथे । कोही नदी हेर्न पुग्थे त कोही परिवार कुरेर बस्थे । वर्षात्मा नारायणीको सतह बढे गाउँमा बाढी पस्ने खतरा हुन्थ्यो । गत वर्षसम्म बाढी पसेर बालबच्चा काखमा च्यापेर रातारात भाग्नु परेको घटना उनीहरुमा ताजै छ । तर, अब भने उनीहरु ढुक्कले निदाउँछन् । तटबन्धले गाउँलाई सुरक्षित बनाएको र पर्यटकीय सम्भावनाको ढोका खोलेको चौधरी बताउँछन् ।

यस्तै, महानगरकै सहयोगमा शिशैमा बाघको प्रतिमा राख्ने काम हुँदैछ भने भ्यू–टावर निर्माण कार्यसमेत भैरहेको छ । त्यसरी नै पुरानो आदिवासी थारु सङ्ग्रहालय पनि स्थानान्तरणको क्रममा रहेको छ । भ्यू–टावरका लागि निकुञ्जको मध्यवर्ती क्षेत्र कालाबञ्जर वन उपभोक्ता समितिले सहयोग गरेको छ ।

होमस्टेमा ढिकरी, घोँघीका अलावा लोकल कुखुराको मासु, स्थानीयस्तरमै पाइने साना माछा, हाँस, भेडाको मासुलगायत उपलब्ध हुने टंकनारायण महतोले बताए । ‘पछिल्लो समय थारु संस्कृति लोप हुँदै जान थालेको छ, यसलाई संरक्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘होमस्टेले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।’

क¥याङकुरूङलगायत धेरै किसिमका चराहरु, एकसिङ्गे गैँडा तथा गोहीको मुख्य बासस्थान, नोकिया ताल, थारु सङ्ग्रहालय यहाँको मुख्य विशेषता रहेको महतोले जानकारी दिए ।

नारायणगढदेखि करिब ११ किलोमिटर पश्चिम गोब्रेनीबाट लगौँटा–गाजीपुर–सिमरीटाउन–सिस्वाह–खयरघारी हुँदै पुगिने शिशै भगडी क्षेत्र नारायणी नदीमा पुल नबन्दासम्म डुङ्गाको माध्यमबाट नवलपरासीको पिठौलीसम्म आवतजावत गरिने स्थान रहनुका साथै यहाँ दिउँसै किसानको खेतमा गैँडा, मृग, बँदेल, मयूर चरिरहेको देख्न सकिने तथा फैलिएको नारायणीकिनार र सिमसार क्षेत्रमा हिउँदमा चराचुरूङ्गीले ढाक्ने स्थलका रुपमा समेत यो क्षेत्र चर्चित छ । यहाँको मनोरम दृश्य देखेर आन्तरिक एवं बाह्य पर्यटकहरुको मन सजिलै लोभिने गरेको छ ।

पश्चिम चितवनकै प्राचीन मार्ग भोसराघाट र कालाबञ्जर मध्यवर्ती क्षेत्रमा पर्ने नारायणी नदीकिनारमा रहेको बाघ क्षेत्रका रुपमा चिनिने ऐतिहासिक र पुराता¤िवकस्थल शिशै भगडीमा पर्यटकलाई आकर्षित गर्ने आफूहरुको योजना रहेको कालाबञ्जर वन उपभोक्ता समितिका पूर्वअध्यक्ष भूपालनाथ कँडेलले बताए ।

सोही स्थानमा रहेको ऐतिहासिक र धार्मिक मह¤व बोकेको भगडी मन्दिर र जोगी कुटीमा विशेषगरी हरिबोधनी एकादशीका दिन मेला लाग्ने र हरेक वर्षको महाशिवरात्रि, श्रीपञ्चमी, साउन महिनाका साथै विभिन्न अवसरमा धर्मावलम्बीहरुको घुइँचो लाग्ने परमानन्द कुटीका श्री शिव चैतन्य ब्रह्मचारी बताउँछन् ।

हिउँदमा पर्याप्त पर्यटक आए पनि बाटोघाटोको सुविधा नहुँदा समस्या भएको र भ्यू–टावर, पिकनिक स्थल तथा पार्क र होमस्टे, पदमार्ग, शवदाह क्षेत्रलगायत निर्माण गर्न सके भगडी पर्यटन क्षेत्रको मुहार फेरिने उनको धारणा छ । चितवन पोष्ट