चितवन आवाजको निशुल्क उद्घोषण तालिम सुरू

गुञ्जनगर, १७ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निःशुल्क उद्घोषण तालिम आइतबार बाट गुञ्जनगरमा सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि समाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै उपयोगी र सृजनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेलले बताउनुभयो । क्षमता विकास गर्ने हाम्रो प्रमुख उद्देश्य भएको र उद्देश्य पक्कै पूरा हुने भन्दै सबैलाई तालिमबाट सक्दो लाभ उठाउन समेत कँडेलले आग्रह गर्नु भयो ।

कार्यक्रममा मुस्कान लाइफ समूहका अध्यक्ष घनश्याम ढकाल, न्यायिक समिति सदस्य सूर्य ढकाल लगायतका अतिथिहरूको उपस्थित रहेको थियो । चितवन आवाजका सञ्चालक विनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सुस्मिता न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने चितवन आवाजकी संवाददाता निशा थापा मगरले सहजीकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको आयोजकले बताएको छ । भाद्र १७ गते देखी १९ गतेसम्म सञ्चालन हुने तालिमको पहिलो दिनमा सञ्जय देवकोटाले प्रशिक्षण दिनुभएको थियो ।