शिक्षाको बहसका लागि चितवनमा शिक्षा कार्यशाला १८ गते हुँदै

चितवन, १७ भाद्र । नेपालको समग्र शिक्षाको बहसका लागि चितवनमा शिक्षा कार्यशाला सम्पन्न हुँदै छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशको आयोजनामा यही भाद्र १८ गते सोमबारका दिन भरतपुर स्थित होटेल ग्लोबलको सभा हलमा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला सम्पन्न हुँदै छ ।

विभिन्न विश्वविद्यालयका प्रतिनिधि, प्राध्यापक, शिक्षक, शिक्षाविद् तथा विद्यार्थीहरूसहित करिब १०० भन्दा धेरैको सहभागितामा सम्पन्न हुने कार्यशालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुहुनेछ । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा.डा. बिजु थपलिया र वीरेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य प्रा.दयाराम पौडेलले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुहुनेछ । साथै सहभागीहरूमाझ बृहत् चिन्तन एवं चर्चा हुनेछ । चितवन मेडिकल कलेज कि प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सम्पन्न हुने कार्यशालामा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेल, महासचिव विष्णु प्रसाद पङ्गेनी, राष्ट्रिय सह सङ्गठन सचिव रमेश कँडेल लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ ।

विगतमा विद्यार्थी परिषद्ले गत फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न गरेको थियो भने अलग अलग मितिमा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय शिक्षा कार्यशाला सम्पन्न गरिसकेको विद्यार्थी परिषद्का बाग्मती प्रदेश उपाध्यक्ष विपिन कँडेलले जानकारी दिए ।