पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटा एक दिन पनि जेलमा बसेनन्, उच्चले दियो धरौटीमा छाड्ने आदेश

चितवन, २२ भाद्र । आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेलमा बसेनन् । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।

घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि पनि जेल गएनन् । विरामी भएको बहानामा अस्पताल भर्ना भएका उनी अहिले पनि चितवन मेडिकल कलेजमै उपचाररत छन् । जिल्ला अदालतको आदेशपछि रुङ्गटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएको थियो ।

चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ । उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।

आज सार्वजनिक बिदा भएकाले आइतबार रुङ्गटा धरौटीमा छुट्ने भएका छन् । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।