आदर्श माविको ६४ औँ वार्षिकोत्सव सम्पन्न,अपाङ्गता भएका बालबालिकाको लागि स्रोत केन्द्र सञ्चालन

दिव्यनगर, २४ भाद्र । आदर्श माध्यमिक विद्यालय दिव्यनगरले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि राम भण्डारीको अध्यक्षतामा ६४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालय प्राङ्गणमा आज (आइतबार) सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको उचित व्यवस्थापन गरी व्यावहारिक तथा रोजगार मूलक शिक्षामा लाग्न जोड दिनुभयो । प्रमुख दाहालले सामुदायिक विद्यालयलाई अगाडी बढाउन आफ्नो तथा महानगरको तर्फबाट हर कदममा सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरूले मात्र नभई सबै शिक्षक शिक्षिकाहरूले समेत नियमित रूपमा विद्यालय पोसाक लगाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिँदै मेयर दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालयको समेत उद्घाटन गर्नुभएको छ । उहाँको अनुसार आदर्श माविकै क्षेत्रमा रहेको भवनलाई रङ रोगन गरी मस्तिष्क घात भएर अपाङ्गता भएका बालबालिकाको लागि स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो ।


विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई मध्यनजर गर्दै महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको बताउँदै उहाँले भन्नुभयो,‘यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोतसाधन महानगरपालिकाले आगामी दिनमा उपलब्ध गराउँदै जान्छ ।’ त्यस्तै स्रोत केन्द्रमा टाढाका विद्यार्थी पनि रहेकोले विद्यालयमा बसको आवश्यक भएको विषय कार्यक्रममा सहभागीले उठाएका छन् । तर, यस वर्षमा विद्यालय बसको कार्यक्रम नभएकोले र गत वर्ष बस प्रदान गरेकाले विद्यालयले राम्रो गरे आगामी वर्ष महानगरले यस कार्यक्रमलाई पनि अगाडि बढाउने मेयर दाहालले बताउनुभयो । शैक्षिक क्षेत्रमा विकास गरेकै कारण ५ वर्षअघि विद्यार्थीको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको आदर्श माविमा अहिले विद्यार्थीको सङ्ख्या बढेर ७०० को हाराहारीमा पुगेको छ, जसको कारण आज यस विद्यालयमा आउँदा आफूलाई विश्वविद्यालय वा क्याम्पसमै आएको सरह अनुभूति हुने उहाँले बताउनुभयो ।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले संविधानले प्रत्याभूत गरेको अपाङ्गता भएको बालबालिकाको उचित शिक्षा प्राप्त गर्ने अधिकारलाई सम्मान गर्दै महानगरले सबै बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न प्रयत्न गर्दै आएको बताउनुभयो । भरपुर २६ मा मस्तिष्क पक्षाघात भएका बालबालिकाहरू जुन नियमित विद्यालय जान नसक्ने, थेरापी सहितको शिक्षण सिकाई गर्नुपर्ने अवस्थाका बालबालिकाहरू विगत दुई वर्ष देखि अभिभावकहरूकै पहलमा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले विगत दुई वर्षदेखि पीडित अभिभावकहरूकै पहलमा सञ्चालन हुँदै आएको मस्तिष्क पक्षाघात स्रोत कक्षाको बारेमा महानगरपालिकालाई थाहा भए पश्चात् महानगरले आदर्श विद्यालयको सूचना केन्द्र रहेको उक्त भवनमा रंगरोगन गरी आवश्यक पर्ने पूर्वाधार, कक्षाकोठा, शौचालयलगायतको व्यवस्थापन गरेर स्रोत कक्षा सञ्चालनमा आएको बताउनुभयो ।
उहाँले यस स्रोत कक्षामा विशेष प्रकारको थेरापी गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कठिन अवस्था भएको मस्तिष्क घात भएका बालबालिकालाई विशेष प्रकारको थेरापी गराउँदै दैनिक क्रियाकलापको बारेमा सिकाउँदै जानेछौँ ।’
सरकारको पढ्दै कमाउँदै भन्ने नीतिलाई लागु गर्ने उद्देश्यले विद्यालयमा फुड फेस्डिबलको समेत आयोजना गरिएको थियो । विद्यार्थीहरूले सञ्चालन गरेका फुड फेस्डिबलमा स्वयम् विद्यार्थीहरू आफैले सबै व्यवस्था मिलाएका थिए । फेस्डिबल सञ्चालन गर्न इच्छुक विद्यार्थीहरूले रु ५०० जम्मा गरी आयोजना गरिएको थियो । विद्यालयमा आयोजना गरिएको उक्त फुड फेस्टिबलमा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले भाग लिएका थिए । उक्त फेस्टिबलमा विद्यार्थीहरूले चाउमिन, चना अण्डा, तरकारी दुनट, चटपट, पकौडा, पानीपुरी, चटपट जस्ता परिकारहरू तयार गरेर बिक्री वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक मित्रबन्धु चापागाईँले प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा विद्यालयका जग्गादाताहरू, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विद्यालयका संस्थापक सदस्य , विद्यालयका पूर्व प्रध्यानाध्यापकहरु , संस्थापक तथा पूर्व शिक्षकहरूलाई समेत सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने ख्यातित्व तथा आर्थिक रूपमा सहयोग गर्ने पूर्व विद्यार्थीहरू तथा अतिरिक्त क्रियाकलाप र पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

गोविन्द भण्डारी र दुर्वासा भण्डारीको अक्षय कोषबाट रस्मिता गुरूङ्गलाइ वार्षिक दश हजार दिने गरी आज दश हजार प्रदान गरियो । नरपति अधिकारी र देवकी अधिकारीका छोरा ईश्वरी प्रसाद अधिकारीले ५ जना लाई जनही ५ हजारका दरले रु २५ हजार छात्रवृत्तिका लागी विद्यालयलाई हस्तान्तरण गर्नुभयो । पूर्व विद्यार्थी मुक्ति दवाडीले आफ्नो जन्मदिनको अवसरमा एक लाख पचास हजार जम्मा गरेकोमा अक्टोबर १ मा थप पचास थपेर २ लाख १ हजार पुर्‍याउने घोषणा गर्नुभयो । दान आशा फाउन्डेसनले ३० जना विद्यार्थीको सम्पूर्ण अध्ययन खर्च व्योहर्ने गरेको छ । अधिकारी पुस्तक पसलले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो । लीला दमयन्ती अक्षयकोष बाट प्रथम हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

विद्यालयको वार्षिकोत्सव समारोहमा शैक्षिक प्रशासन महाशाखा नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देल, ऋषिराम शर्मा, भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल,विद्यालयका संस्थापक लीलाधर दवाडी, आशा फाउन्डेसनका कार्यक्रम संयोजक डम्बर गुरुङ लगायत अतिथिहरूको उपस्थिति रहेको कार्यक्रमलाई शिक्षिका तारा सापकोटाले सञ्चालन गर्नुभएको थियो भने शिक्षक देव कुमार बस्यालले स्वागत मन्तव्य राख्नु भएको थियो ।