प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दैनन् चितवनका पालिका

भरतपुर,भाद्र २५ । चितवनका सात पालिकाहरुले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गर्ने प्रणाली अपनाएका छैनन् । अधिकार प्राप्त हुँदाहुँदै पनि पालिकाहरुले विविध कारणले यो विधि अपनाउन नसकेका हुन् ।

देशभरका विभिन्न पालिकाहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउन ‘टीके प्रवृत्ति’बाट प्रधानाध्यापक छनोट गर्ने विधि छोड्दै गइरहेका छन् । काठमाडौँ महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न सुरू गरेको छ । अन्य पालिकाहरुले पनि यो विधि अपनाउन थालेका छन्, तर चितवनका पालिकाहरु यस विषयमा मौनजस्तै बसेका छन् ।

‘विभिन्न दलले आफ्नो पहुँचको आधारमा प्रधानाध्यापक छनोट गर्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न सके सामुदायिक विद्यालयमा अवश्य गुणस्तर बढ्छ’, चितवनका पूर्वजिल्ला शिक्षा अधिकारी श्यामजी अतिथिले भने । उनले पालिकाभित्रबाट योग्यता, क्षमता भएका र नेतृत्व गर्न सक्ने क्षमताका आधारमा प्रधानाध्यापक छनोट गर्न सके गुणस्तर बढ्ने बताए ।

टीका लगाएर प्रधानाध्यापक हुने प्रचलनलाई अन्त्य गर्न आवश्यक भएको उनको भनाइ छ । खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने र सम्झौताअनुरुप नतिजा दिन नसके हटाउने व्यवस्था गर्न स्थानीय पालिका लाग्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दबाब र प्रभावमा रहेर विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट गर्दा सामुदायिक विद्यालयको गुणस्तर नबढेको हो । प्रअ भनेको मियो हो, मियो गतिलो भएन भने गुणस्तर नबढ्ने मात्र होइन स्कुल नै भद्रगोल हुन्छ ।’

शिक्षाविद् रमाकान्त सापकोटाले स्थानीय सरकारले कानुन बनाएर प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापक छनोट गर्नुलाई आफूले सकारात्मकरुपमा लिएको बताए । शिक्षाविद् सापकोटाले भने, ‘प्रतिस्पर्धाबाट छनोट गर्दा प्रअलाई जिम्मेवारीबोध हुन्छ, केही गर्नुपर्छ भन्ने भावना आउँछ । कसैको दबाब र प्रभावमा नपरी काम गर्छ । टीका लगाएर आएको प्रअले जसले टीका लगाएको हो उसको भलोमा काम गर्नुपर्छ ।’

उनले प्रतिस्पर्धा भने स्वच्छ हुनुपर्ने बताए । उनले भने, ‘प्रतिस्पर्धा नाममात्रको गर्ने तर उही पुरानै प्रचलन ‘टीके प्रवृत्ति’ अपनाइयो भने अर्थ हुँदैन, सही प्रतिस्पर्धा गरेर प्रअ छनोट गर्ने हो भने अहिलेको अवस्थामा पक्कै केही न केही सुधार आउँछ ।’ उनले काम नगरे पनि दलगत पहुँचको आधारमा लामो समय प्रधानाध्यापक पद ओगटेर बस्ने परिपाटीको अन्त्य गर्न पालिकाहरुलाई सुझाव दिए ।

नारायणी नमुना माविका पूर्वप्रधानाध्यापक पूर्णप्रसाद दवाडीले पालिकाहरुले खुल्ला प्रतिस्पर्धा गरेर प्रधानाध्यापक छनोट गर्दा विभिन्न प्रभाव र दबाब रहन सक्ने बताए । उनले भने, ‘प्रअ छनोटमा प्रतिस्पर्धा हुनुपर्छ, यो प्रतिस्पर्धा पालिकाले गराउने होइन, शिक्षा सेवा आयोगले गराउनुपर्छ ।’

उनले शिक्षा सेवा आयोगले नै प्रअको विज्ञापन गर्ने, आगोगले परीक्षाहरु लिने, छनोट पनि आयोगले गर्ने प्रणालीको विकास हुनुपर्ने बताए । उनले भने, ‘पालिकाले गराउँदा पनि समस्या आउन सक्छ, निर्वाचित जनप्रतिनिधिको दबाब र प्रभाव कहीँकतै हुन सक्छ, त्यसकारण आयोगले नै प्रअ छनोट गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले प्रअले चाहेमा स्कुलमा कायापलट गर्न सक्ने बताए । उनले भने, ‘दृढ इच्छाशक्ति, आत्मविश्वास र लिडिङ पावर भएको प्रअले स्कुल परिवर्तन गर्न सक्छ ।’

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालय व्यवस्थापन समितिले प्रअको प्रस्ताव माग गरेर छनोट कमिटी बनाई प्रअ छनोट गर्दै आएको बताए । उनले भने, ‘प्रतिस्पर्धाबाट प्रअ छनोट गर्दा राम्रो हुन्छ, यो कुरा अहिले महानगरमा पनि उठिरहेको छ तर सजिलो छैन ।’

उनले प्रअ छनोट गर्दा निकाल्ने प्रश्नपत्रदेखि लिडिङ पावरको क्षमता जाँच गर्नेसम्मको काम गर्न सबै पालिका सक्षम नहुन सक्ने बताए । उनले भने, ‘प्रतिस्पर्धा गराएर छनोट गर्न पाए राम्रो हुन्छ भन्ने भावना बढ्दै गएको छ । शिक्षा ऐन आउन पनि बाँकी छ, कसरी शिक्षा ऐन आउँछ हेरौँ ।’ उनले महानगरमा १० वर्षभन्दा बढी प्रअ भएर बस्न नपाउने नियम रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले काठमाडौँमा प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापक छनोट गर्न सुरू गरेको बताए । उनले छनोट गर्ने महानगरको कार्यविधि अन्य पालिकाहरुलाई अपनाउन सुझाव दिए । उनले भने, ‘अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढ्छ, यसको रिजल्ट आउन बाँकी छ । काठमाडौँ महानगरले राजपत्रमा प्रकाशित गरेर यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।’

शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले स्थानीय पालिकाले प्रअ छनोटको कार्यविधि बनाएर अघि बढ्न सक्ने बताए । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐनमा प्रस्ट भनिएको छ, पालिका आफैँले खुला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्न सक्छन्, संघीय सरकारले छेकेको छैन ।’ उनले पालिकाहरुलाई खुला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्न सुझावसमेत दिएका छन् ।

शिक्षा विकास समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले प्रस्तावित शिक्षा ऐनमा प्रअ छनोट व्यवस्थापनको अधिकार इकाइलाई दिएको बताए । उनले भने, ‘पालिकाले खुला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्ने प्रणाली बसाल्दा राम्रो हुनेछ ।’