रुकुम पश्चिममा १३ वर्षीय छात्रा मृत फेला, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

दाङ, भाद्र २५ । रुकुम पश्चिमको चौजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्धा परेपछि स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

स्कुलमा कक्षा ८ मा अध्ययनरत सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए ।

पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्। प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।