भरतपुर भ्रमण वर्षमा दियालो बंगला खुलाउन मेयर रेनुको पहल

चितवन, भाद्र २६ । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा आँपटारीस्थित दियालो बंगला खुलाउने प्रयास गरेको छ । नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार थालेको महानगरले दियालो बंगलासँगै ठोरी नाका सञ्चालनमा ल्याउने प्रयास पनि थालेको छ ।

दियालो बंगला खुलाउन महानगर प्रमुख रेनु दाहाल आफैले पहल गरिरहेकी छन् । महानगरले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नेपाल ट्रष्ट कार्यालयमा दरवार अवलोकनका लागि खुला गर्न आवश्यक सहयोग गरिदिन भनेर पत्राचार गरिसकेको छ ।

तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्रको निधन यही बंगलामा भएको थियो । राजा महेन्द्र बेलाबखत परिवारसहित यही दरवारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।