भदौ २७ देखि इच्छाकामना महोत्सव : पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

भरतपुर, भाद्र २६ । यही भदौ २७ देखि असोज ७ गतेसम्म कुरिनटारमा ‘दोस्रो इच्छाकामना महोत्सव–२०८०’ हुँदैछ । इच्छाकामनामा आर्थिक गतिविधिलाई चलायमान गराउन र स्थानीय उत्पादनको बजारीकरण गराउने उद्देश्यले इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ मुग्लिनले संयुक्तरुपमा महोत्सव आयोजना गरेका हुन् । महोत्सवबाट इच्छाकामनाको पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

महोत्सवबाट इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपरदाङगढी, जलविरे झरनालगायत इच्छाकामना गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलहरुको अवलोकन गर्न सकिने गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।

त्यसबाहेक आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभूषा र संस्कृतिको प्रदर्शनीले पनि स्थान पाउने उनले बताए । ‘औद्योगिक, घरेलु एवं कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवका प्रमुख आकर्षण हुन्’, अध्यक्ष गुरूङले भने । महोत्सवले गीत–संगीतमा सक्रिय रहेका स्थानीय कलाकारहरुको परिचयलाई समेत फराकिलो बनाउने उनले बताए ।

दस दिनसम्म चल्ने महोत्सवभित्रै इच्छाकामना गाउँपालिका र इच्छाकामना सप्तरङ्गी संस्कृति संरक्षण मञ्चले ‘बृहत् तीज गीत प्रतियोगिता’समेत आयोजना गर्दैछ । असोज १ गते हुने प्रतियोगिताको तयारी पनि महोत्सवसँगसँगै भइरहेको मञ्चका अध्यक्ष एवं कलाकार कृष्णबहादुर गुरूङले जानकारी दिए ।

‘तीज गीत प्रतियोगितालाई हामीले महोत्सवभित्रको अर्को महोत्सव बुझेका छौँ’, उनले भने, ‘किनकि तीज पनि नजिकै आइरहेको हुँदा महोत्सवकै माध्यमबाट सांस्कृतिक भाइचारा कायम गराउन सकिन्छ कि भनेर हामीले सानो प्रयास गरेका हौँ ।’ प्रतियोगितामा सहभागीमध्ये प्रथम स्थान हासिल गर्ने समूहले २० हजार रूपैयाँसहित प्रमाणपत्र, द्वितीय हुने समूहले १५ हजार रूपैयाँसहित प्रमाणपत्र र तृतीय हुने समूहले १० हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसबाहेक दुईवटा समूहलाई सान्त्वनास्वरुप पाँच÷पाँच हजार रूपैयाँसहित प्रमाणपत्र र सहभागी सबैलाई पाँच सय रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने मञ्चका अध्यक्ष गुरूङले जानकारी दिए ।

इच्छाकामना महोत्सवको पहिलो संस्करण उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएमले २०७५ सालमा संयुक्तरुपमा आयोजना गरेका थिए । यसपटक भने इच्छाकामना एफएमले सह–आयोजकका रुपमा सहकार्य गरेको छ ।

 

 

Source: Echitwanpost