रत्ननगर, भाद्र २६ । रत्ननगर उद्योग वाणिज्य संघको २४औँ वार्षिक साधारण सभा तथा दसौँ अधिवेशन सोमबारदेखि सुरू भएको छ । अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका छन् ।
अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनले संघको पदाधिकारीसहित २५ पद निर्वाचनबाट चयन गर्नेछ । दलीय सहमतिका आधारमा २५ पदमध्ये २४ पदमा निर्विरोध भएको छ । सहमति जुट्न नसकेपछि एसोसिएट उपाध्यक्षमा भने चुनाव हुने भएको छ । एसोसिएट उपाध्यक्षमा विरन्जना सापकोटा र हरिप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ । सापकोटा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एस र रास्वपानिकट व्यवसायीहरुको संयुक्त प्यानलबाट र अधिकारी राप्रपानिकटका व्यवसायीका एक्ला उमेदवार हुन् ।
संघको सभाहलमा आज मंगलबार बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म मतदान हुने संघकी कार्यकारी सचिव शर्मिला श्रेष्ठले जानकारी दिइन् । एक हजार ८९० सदस्य रहेको संघमा एसोसिएट उपाध्यक्ष चयनका लागि ११५ जना व्यवसायीले मात्र मतदान गर्ने व्यवस्था रहेको छ । वरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योगतर्फ उपाध्यक्षमा राममणि थपलिया, वाणिज्यतर्फ उपाध्यक्षमा रामशरण नेपाल, वस्तुगत उपाध्यक्षमा शिव मैनाली, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, वाणिज्यतर्फ सदस्यमा सूर्यप्रकाश रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रवीन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उद्योगतर्फ सदस्यमा वेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शमशेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्यतर्फ लक्ष्मी श्रेष्ठ, एसोसिएट सदस्यतर्फ अनुप बिसुराल, सुवास मिश्र, बस्तुगत सदस्यतर्फ नवराज तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । १०औँ अधिवेशनबाट आगामी कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष शंकर गिरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । चार जना सदस्य निर्वाचित कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।
अधिवेशनको उद्घाटन समारोहमा संघले व्यवसायीका समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले कोरोना र आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुन सुरू भइसकेको भन्दै व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् । आर्थिक सङ्कटका कारण व्यवसायीले बैंकको व्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै उनले कर र बैंकको व्याजदर घटाउनेतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रमका प्रमुखअतिथि महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आर्थिक सङ्कटका कारण मुलुकको अर्थतन्त्र कमजोर बनेको बताए । आर्थिक विकासको एजेन्डामा दलहरुबीच राष्ट्रिय सहमति हुन सके औद्योगिक क्षेत्रका समस्या हल हुने विचार उनले व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद् तथा पूर्वमन्त्री जगन्नाथ थपलिया, रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्वसांसद् शेषनाथ अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुराल, एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक, माओेवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष कृष्णप्रसाद भूषाल, नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण बैद्य, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र उपाध्यक्ष रघुनाथ भट्टले प्रस्तुत गरेको कार्यसमितिको वार्षिक योजनासम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।