अक्सफोर्ड कलेजका बस चालकविरुद्ध मुद्दा दर्ता, तीन देखि १० वर्षसम्म कैद माग

चितवन, भाद्र २६ । टिकौली जंगलमा गत साउन ३१ गते भएको दुर्घटनामा मुख्य जिम्मेवार भनिएको अक्सफोर्ड कलेजको बसका चालक र सहचालक दुवैविरूद्ध अभियोग दाबीसहित सरकारी वकिलको कार्यालयले चितवन अदालतमा मुद्दा पेस गरेको छ ।

तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना माग गरी अभियोगपत्र दर्ता गरिएको हो । सोमबार भएको चितवन अदालतको आदेशअनुसार सहचालक भनिएका (दुर्घटना हुँदाका चालक) भरत परियार भनिने आशिषलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताए ।
सहचालक परियारले बस चलाउँदा दुर्घटना भएको थियो । आशिष नवलपुरको गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का हुन् । बसका वास्तविक चालक भरतपुरका कविन सापकोटाले आफ्नो जिम्मेवारीमा भएको बस सहचालकलाई चलाउन दिएको भनी उनीविरूद्ध पनि कारबाहीको माग गर्दै मुद्दा दर्ता भएको छ । सापकोटा फरार छन् ।

आशिषसँग बस चलाउनका लागि आवश्यक कागजपत्र (लाइसेन्स) नभएको र गाँजासमेत सेवन गरेको रिपोर्ट आएपछि उनीविरूद्ध यातायात व्यवस्था ऐनअनुसार मुद्दा चलाइएको छ । अनुसन्धानको क्रममा प्रारम्भिक अवस्थामा चालकले लाइसेन्स छ भने पनि उनीसँग हल्का गाडी चलाउने लाइसेन्स मात्र भएको पत्ता लागेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
‘तत्कालीन समयमा वास्तविक चालक बसको अन्तिम सिटमा बसेको र सहचालकले भने बस चलाएको अनुसन्धानबाट खुलेको छ’, डिएसपी पण्डितले भने, ‘उनीसँग ट्रयाक्टर चलाउन पाइने लाइसेन्स रहेछ ।’

प्रहरीले दुवैजनालाई सवारी अंगभंगअन्तर्गत मुद्दा चलाएको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा १६२ को उपदफा १ र २ को अभियोग आशिषमाथि छ भने उपदफा ३ को अभियोग सापकोटामाथि छ । बदनियतका साथ सवारी चलाएको र सवारी चलाउने अनुमतिपत्र नभई सवारी चलाएको अभियोग आशिषमाथि छ । त्यस्तै, कविनलाई लगाइएको दफा ३ को अभियोगअनुसार सवारीको जिम्मा लिएको चालकले सवारी चलाउने अनुमतिपत्र नभएको मानिसलाई चलाउन दिएको आरोप छ । यसअनुसार वास्तविक चालक वा सवारी दिनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने कानुनी व्यवस्था छ ।
गत साउन ३१ गते दिउँसो पूर्व–पश्चिम सडकको टिकौली जंगलमा अक्सफोर्डको कलेज बसले शव बोकेको बोलेरो र छवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैँडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको
ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य छवटा दुईपाङ्ग्रे सवारीलाई पनि ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइतेहरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना घाइते भएका थिए । घाइते सबैको कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ ।