स्वास्थ्यमन्त्रीसँग क्यान्सर अस्पतालका बिरामीको गुनासैगुनासा

भरतपुर, २७ भाद्र । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामी र तिनका आफन्तले मंगलबार अस्पतालको प्रशासनिक भवनबाहिर संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई कुरेर बसेका थिए । मन्त्री जोशीसहित क्यान्सर अस्पताल पुगेका संघीय मन्त्री बस्नेतले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग भित्र छलफल गर्दै थिए । बिरामीले मन्त्रीद्वय बस्नेत र जोशीलाई त्यसै छाड्नेवाला थिएनन् ।

जब मन्त्रीद्वय बाहिर आए, बिरामी र तिनका आफन्तले मनभरिका आक्रोशमिश्रित गुनासा पोखे । देशको सुदूरपूर्व र सुदूरपश्चिमबाट आएका बिरामीले अस्पतालमा भोगेको समस्या उनीहरुले मन्त्रीलाई पालैपालो सुनाए । अस्पतालमा पानी, पङ्खाजस्ता सामान्य समस्या छ । बिमामा अत्यावश्यक औषधि पाइँदैन । अस्पतालभित्र सिटामोलजस्ता सामान्य औषधि पनि नपाइएको उनीहरुको गुनासो छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाबाट आएका कृष्णप्रसाद न्यौपानेले भैँसी बेचेर क्यान्सरको उपचार गर्न आएका बिरामीले समयमा उपचार नपाएको र उल्टै दुव्र्यवहार खेप्नु परेको बताए । ‘सरकारले दिने भनेको सेवासुविधा पनि पाउन सकेका छैनौँ । यहाँ करप्सन छ, यसलाई सुधार्न प¥यो’, उनले भने । अस्पतालका कर्मचारीले नियम कानुन नमानेको उनी बताउँछन् ।

पर्वतबाट श्रीमतीको उपचार गर्न भरतपुर आएका एक व्यक्तिले अस्पतालभित्रै हुनुपर्ने उपचार बाहिर गएर गर्न भनेको गुनासो गरे । ‘अपरेसन गर्नुप¥यो भने अस्पतालका कर्मचारीले यहाँ दुई÷तीन महिना लाग्छ, बाहिर गएर गर्नुस् भन्नुहुन्छ । बाहिर गर्नुपर्ने भए यत्रो अस्पताल बनाएको के काम लाग्यो ?’ उनले भने ।

मोरङबाट आएकी दिव्या तिमिल्सिनाले अस्पतालमा इकोको मेसिन नभएर बाहिर जानु परेको बताइन् । ‘हामी कति टाढादेखि उपचार गराउन भनेर आएका छौँ । सबै सकेर आएका छौँ । यहाँ उपचार किन हुँदैन ?’ उनले मन्त्रीलाई प्रश्न गरिन् । टिकट लिने ठाउँमा लामो लाइन लाग्नु परेको, टोकन सिस्टम नभएको, क्यान्टिन पर्याप्त नभएको लगायत थुप्रै गुनासा बिरामीका आफन्तको छ ।

मन्त्री बस्नेतले १५ दिनभित्र अस्पताल सुधार्ने प्रतिबद्धता बिरामी र तिनका आफन्तसामु गरे । ‘तपाईंहरुले देख्नुहुन्छ, १५ दिनभित्रमा सुधारले मूर्तरुप पाउँदै जान्छ । सुधार भएन भने कारबाही म आफैँ गर्छु’, उनले भने, ‘तत्कालै गर्नुपर्ने काम एक हप्ताभित्र हुन्छ ।’ बिमा सेवामा समस्या भएको स्वीकार गर्दै बिमालाई व्यवस्थित र नियमन गर्न जरूरी रहेको उनले बताए । बिमा बोर्डको अध्यक्ष नियुक्त हुन नसकेको भन्दै उनले बिमा र स्वास्थ्यसेवा बुझेको व्यक्तिलाई नियुक्त गर्न खोज्दा केही ढिला भएको दाबी गरे ।

अबदेखि क्यान्सर अस्पतालभित्रै उपचार नगरेर बिरामीलाई बाहिर पठाउने कर्मचारीलाई कारबाही गर्ने उनले प्रतिबद्धता पनि जनाए । ‘म आएपछि १६ वटा अस्पतालमा तीन हजार ५२३ जनरल बेडहरु निःशुल्क गरिएको छ । सातवटै प्रदेशमा जनरल बेड निःशुल्क गर्ने भनेका छौँ’, उनले भने, ‘सुगममा बसेका ९५ प्रतिशत डाक्टरलाई दुर्गमका अस्पतालमा लखेटिसकेको छु ।’

‘जनशक्ति अभाव हुन दिँदैनौँ’

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन् ।

भरतपुर अस्पतालको मंगलबार निरीक्षणपछि उनले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताएका हुन् । आफूले स्वास्थ्य जनशक्तिको समस्याका बारेमा मन्त्रिपरिषद्मा समेत कुरा उठाएको भन्दै उनले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्न निर्देशन दिएको बताए ।

उनले जसरी पनि दक्ष स्वास्थ्यका जनशक्ति उत्पादन गर्नेमा पछि नहट्ने बताए । “आफूहरुले दिएको निर्देशनलाई अवज्ञा हुने गरी आयोगले विज्ञप्ति निकाल्छ, निर्देशन आवश्यक छैन भन्छ”, उनले भने ।

भरतपुर अस्पतालमा कम जनशक्तिमा काम गर्नु परेको भन्दै मन्त्री बस्नेतले देशभरि नै यो समस्या रहेको बताए । उनले भने, “चार स्वास्थ्यकर्मीले गर्ने काम एक जनाले गर्न बाध्य छन्, यो समस्या समाधान हुन्छ ।”

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा सहज ढङ्गले बिरामीलाई उपलब्ध गराउन चिकित्सक कर्मचारीलाई निर्देशन दिए । कतिपय चिकित्सक कर्मचारीले निरन्तर काम गर्ने र कतिपयले कामै नगर्ने गरेको भन्दै उनले सबैलाई एकजुट भएर काम गर्न आग्रह गरे ।

भरतपुर अस्पतालको स्तरोन्नतिका लागि तीनै तहका सरकारले सहयोग गर्ने उनले बताए । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

 

Source:Echitwanpost