भरतपुर,२६ भाद्र । २०५५ सालमा गाउँमै विद्यालय खुलेपछि दौतेशका बादल चेपाङले पहिलोपटक अक्षर चिन्ने मौका पाए, जतिबेला उनी नौ वर्ष पुगिसकेका थिए । तीन वर्ष राष्ट्रिय आधारभूत विद्यालय दौतेशमा पढेपछि कक्षा ४ र ५ पढ्न पारि वाङ्थला धाए । विद्यालय पुग्न दुई घन्टासम्म पाइला नाप्न पथ्र्यो । ढिलै भए पनि गाउँमै विद्यालय नखुलेको भए अक्षर चिन्न सायदै पाउँथे बादलले ।
कालिका नगरपालिकाको वडा नं–११ मा पर्ने यो दौतेशमा अहिले पनि वर्षमा एकपटक अनिकालको सामना गर्नुपर्ने बाध्यता हटिसकेको छैन । त्यतिबेलाको अवस्था कस्तो थियो होला ? गाउँको विद्यालयबाट पास भएर थप कक्षा पढ्न अर्को गाउँ जानुपर्ने हुँदा वाङ्थला पुग्न बिहान घरको काम सकाएर खाना नखाई दौडिनुपथ्र्यो । उमेर र कक्षा बढ्दै जाँदा बादललाई दुःखको भारी पनि उत्तिकै बोझिलो बन्दै गयो ।
कक्षा ६ भन्दामाथि पढ्नका लागि झन् टाढा सिद्धि धाउनुपथ्र्यो । बिहान ७ बजे घरबाट ननिस्किए समयमा विद्यालय पुग्न सकिँदैनथ्यो । यति हुँदा पनि बादललाई पढ्ने चाहनाले छाडेन । खल्तीमा भुटेको मकै हालेर टोक्दै कक्षा ६ र ७ को पढाइ सकाए । बिहान घरको एकसरो काम सकेर विद्यालय जाने उनी विद्यालयमा राम्रो विद्यार्थीमा पर्थे, किनकि दुइटै कक्षामा उनी प्रथम भए ।
मामाको सहारा पाएका उनले पढाइमा थप सहज हुने देखेपछि कक्षा ८ पढ्नका लागि झन् टाढा शक्तिखोर झरे । तर, तीन महिना मामाघरमै बसेर पढेका बादललाई त्यसपछि भने घरबाटै धाउनुपर्ने बाध्यता आइलाग्यो । दुःखको भुमरीले फनफनी घुमाए पनि पढ्ने भूतले नछाडेका उनले बाँकी नौ महिना घरबाटै पाइला गन्न थाले । एकदिन विद्यालयबाट फर्किंदै गर्दा अस्ट्रेलिया बस्ने एक जना बजारियासँग बाटोमा उनको भेट भयो ।
बादलको हुलिया देखेर होला सायद नाम, ठेगाना, पारिवारिक पृष्ठभूमि र उनको रहर सबै खोतले । बादलले पनि ती अपरिचित दाइलाई आफूले भोग्दै आएको अवस्था, रहर र बाध्यता सबै सुनाए । बादलको कुरा सुनिसकेपछि तिनै अपरिचित दाइबाट आफूले पढ्न पाउने आश्वासन पाए । मन पुलकित भयो । ‘सिन्ती झरनातिर घुम्न आउनुभएको रहेछ, उहाँको घर टाँडी शान्तिचोकमा रहेछ’, विगत सम्झिँदै बादल भन्छन्, ‘कुराकानी भइसकेपछि कक्षा ९ बाट राम्रैसँग पढ्न पाइने भइयो भनेर मनले बेस्सरी फुर्क्यायो । किनकि मलाई पनि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भएको थियो ।’
नयाँ शैक्षिक सत्र सुरू नहुँदै शान्तिचोकका ती दाइ बादललाई खोज्दै दौतेश पुगे । खान, बस्न, पढ्न सबै पाइने भएपछि बादल तिनै दाइको पछि लागेर रत्ननगर हान्निए । दिउँसो विद्यालय गए पनि साँझ–बिहान घरको काममा घोटिनुपथ्र्यो । काममा दुःख भए पनि नजिकको विद्यालयमा पढ्न पाउँदा कक्षा ९ सजिलै पास गरे । सातवटा भैँसी र चारवटा गाईको दानापानी र खर्कका सबै काम गर्नुपर्ने जिम्मा बादलकै काँधमा थियो । आफूलाई लिएर जाने दाइ विदेश फर्किए । घरमा बाआमामात्रै थिए ।
‘कक्षा १० मा पुगेपछि पढाइमा भन्दा घरको काममा बढी केन्द्रित हुनुप¥यो’, बादलले भने, ‘जसकारण कक्षा १० मा फेल भइयो ।’ त्यसपछि बाआमाले घर फर्किन दबाब दिन थाले । तैपनि ‘एकपटकलाई मौका दिनुस्, मलाई पढ्ने इच्छा छ’ भनेपछि कक्षा १० मा दोहो¥याएका उनले तेस्रो डिभिजनमा एसएलसी पास गरे । घर फर्किए शैक्षिक गन्तव्य नै टुट्ने भएपछि जतिसुकै दुःख भए पनि बजारमै बसेर पढ्ने सोच बनाएका उनलाई कक्षा ११ को परीक्षा दिन पनि मुस्किल प¥यो ।
‘बाआमाको व्यवहार परिवर्तन भइसकेको थियो । घरको काममा मात्रै खटिनुपथ्र्यो’, उनी भन्छन्, ‘बडो कष्टका साथ परीक्षा दिइयो । कि त पढाइ छाड्नुप¥यो कि त कष्ट सहनै प¥यो ।’ जस्तोसुकै परिस्थिति आइपरे पनि कक्षा १२ उत्तीर्ण गर्छु भन्ने अठोट लिएका उनलाई साहुको घरमा वातावरण नै नभएपछि आफैँ कमाएर पढ्ने निधो गरे । र, सबेरै तीन बजेदेखि पत्रिका बाँड्न थाले ।
तर, महिनामा आउने चार हजार रूपैयाँले खर्च टार्न नसक्ने भएपछि पढाइ छाड्नुको विकल्प रहेन । र, हार खाएका बादल पुनः पहाड उक्लिए । अन्ततः शैक्षिक गन्तव्यमा पूर्णविराम लगाउन बाध्य भए । ‘कक्षा १२ उत्तीर्ण गर्ने सपना अधुरै रह्यो’, उनले भने, ‘आफूले पढ्न नपाए पनि अबका नयाँ पुस्तालाई पढाउनुपर्छ भन्ने अभियानमा लागेको छु ।’ कक्षा ८ सम्म पढ्दा भोको पेट विद्यालय धाएका तिनै बादल अहिले आफैँले अक्षर चिन्न सुरू गरेको विद्यालयको शैक्षिक गुणस्तरमा जुटेका छन् ।
‘आफूले पढ्दाको दुःख सम्झेरै गाउँको विद्यालय बनाउने सपनासहित व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेको छु’, उनी भन्छन्, ‘हेरौँ, कतिसम्म गर्न सकिन्छ ।’ उनले करिब ६ महिनाअघिमात्रै नेतृत्व सम्हालेका हुन् । ‘विद्यालयमा आवश्यक स्रोतसाधन जुटाएर पूर्वाधार निर्माण गर्न सके त्यसबाट गाउँले सबै लाभान्वित हुन सक्छन्’, उनी भन्छन्, ‘किनकि गाउँघरमा सामान्य खालको कार्यक्रम गर्नुपरे पनि विद्यालयको विकल्प हुँदैन ।’
त्यसैले विद्यालयमा खानेपानी, शौचालय, इन्टरनेट, विद्युत्जस्ता विकासका पूर्वाधार निर्माण गर्नसके त्यसबाट विद्यार्थी र शिक्षकलाई मात्र नभई अभिभावकलाई समेत फाइदा पुग्ने उनको भनाइ छ । ‘म भर्ना हुँदा कटुसको स्याउलाले छाएर पातीले बारेको विद्यालयमा पढेको हुँ’, विगतको स्मरण गर्दै बादल सुनाउँछन्, ‘अहिलेका भाइबहिनी आरामसँग डेस्क, बेन्चमा बसेर पक्की कोठामा पढ्न पाएका छन् ।’
उनका अनुसार विद्यालयको भौतिक सुधारका लागि गत आर्थिक वर्षको ३२ लाख ५० हजार रूपैयाँ स्थानीय सरकारको बजेटमा नयाँ भवनको ढलान सकिएको छ । ‘त्यसलाई पूर्णता दिन स्थानीय सरकारसँग ताकेता गरिरहेका छौँ’, उनी भन्छन्, ‘यो वर्ष पनि पालिकाले पाँच लाख रूपैयाँ बजेट छुट्टयाएको छ ।’ गाउँमै सुविधासम्पन्न र गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउन सके खल्तीमा भुटेको मकै बोकेर उकाली–ओराली धाउन पर्थेन भन्ने अठोटका साथ विद्यालय निर्माणमा लागिपरेको उनी बताउँछन् ।
कक्षा ३ सम्मको मात्रै पढाइ हुने यो विद्यालयमा यसवर्ष ५२ जना विद्यार्थी भर्ना भएका छन् । ती ५२ जना विद्यार्थी र तिनका अभिभावकको पनि अभिभावक बन्ने प्रयास गरिरहेका छन् । घरघरै गएर अभिभावकलाई सम्झाएपछि प्रायः सबैले छोराछोरीलाई विद्यालय पठाउन थालेका उनले बताए । ‘हाम्रा अभिभावकलाई बुझाउनै गाह्रो’, उनी भन्छन्, ‘दिनदिनै घरघरै धाएर पढाउँदा पनि अझै सबै बालबालिकालाई विद्यालयमा ल्याउन सकेका छैनौँ ।’
source:Echitwanpost