रत्ननगर उवासंघमा शंकर गिरीलाई अध्यक्षको कार्यभार

रत्ननगर,भाद्र २८ । रत्ननगर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्षका रुपमा शंकर गिरीले बुधबारदेखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औँ साधारण सभा तथा दसौँ अधिवेशनबाट विधानतः अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ ।

निर्वाचन समितिका संयोजक बार एसोसिएसन चितवनका अध्यक्ष अधिवक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण र संघका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गरेका थिए ।

२०५८ सालमा संघमा सदस्यता लिएका गिरी २०६० सालमा कार्यसमिति सदस्य बनेका थिए । २०६७ सम्म तीन कार्यकाल सदस्य पदमा रहेर काम गरेका उनी सोही वर्ष भएको निर्वाचनमा उद्योग उपाध्यक्षमा विजयी भएका थिए । २०७० सालमा भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका उनी २०७४ सालमा एसोसिएट उपाध्यक्षमा विजयी भएका थिए ।

२०७७ सालमा भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष भएका गिरी आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

ग्लोबल मेट्रो सिटी बस कम्पनीका अध्यक्ष रहेका उनी नारायणी यातायात व्यवसायी संघको निर्देशकसमेत हुन् । उनी गायत्री हरिहर मन्दिरमा निर्माणाधीन धर्मशाला निर्माण समितिको संयोजकसमेत हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योगतर्फ उपाध्यक्षमा राममणि थपलिया, वाणिज्यतर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एसोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

वाणिज्यतर्फ सदस्यमा सूर्यप्रकाश रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रवीन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रवीचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उद्योगतर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शमशेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्यतर्फ लक्ष्मी श्रेष्ठ, एसोसिएट सदस्यतर्फ अनुप बिसुराल, सुवास मिश्र, बस्तुगत सदस्यतर्फ नवराज तिमिल्सिना चयन भएका छन् ।

संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता कँडेलले अध्यक्ष गिरीसहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई शपथ ग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शंकर गिरीले आर्थिक सङ्कटको जोखिमबाट व्यवसायीलाई जोगाउन सरकारी पहल थाल्ने बताए । व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि सार्थक पहल गर्ने बताउँदै उनले त्यसका लागि व्यवसायीको एकता आवश्यक रहेको बताए । संघको कार्यभार सम्हाल्दै गर्दा अनेकौँ चुनौती रहेको भन्दै उनले चुनौतीलाई अवसरका रुपमा लिएर संघको गरिमा उच्च राख्न प्रयत्नशील रहने बताए । उनले निकट भविष्यमै हुने रत्ननगर महोत्सवको नयाँ संस्करणलाई व्यवस्थित गर्दै आर्थिक विकासको मेरूदण्डको रुपमा स्थापित गर्ने बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालले संघमा व्यवसायीबीच एकता नहुँदा नेतृत्व चयनका बेला राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै सचेत हुनुपर्ने बताए । ‘हामी व्यवसायी हौँ’, उनले भने, ‘नेतृत्व चयनका बेला हामीबीचमा एकता नहुँदा दलहरुले हस्तक्षेप गर्ने वातावरण बन्यो ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका संघका निवर्तमान अध्यक्ष अनिलकृष्ण प्रमुखअतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशवनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर बिसुराललगायतले मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य अघिवक्ता रामकृष्ण अधिकारीले स्वागत मन्तव्य तथा अर्का सदस्य अधिवक्ता दिवाकर अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।