महानगरसँग छहारीको माग : पूर्वबाट आउने बसलाई भरतपुरको ‘रिङरोड’ चल्न देऊ

चितवन, भाद्र २८ । केन्द्रीय बस टर्मिनललाई व्यवस्थितरुपमा सञ्चालन गर्ने भन्दै भरतपुर महानगरपालिकाले पूर्वी चितवनबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढ झर्न रोक लगाएपछि यातायात व्यवसायीले विभिन्न खालका मुद्दालाई लिएर नारायणगढसम्मै झार्न दबाब दिँदै आएको छ । यही क्रममा बुधबार पनि चितवन छहारी यातायात सेवा प्रालिले भरतपुरका नौवटा वडाका जनप्रतिनिधिसँग यसै विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा यातायात व्यवसायीले यात्रु चढाउन र ओराल्नमात्रै बसपार्क–पुलचोक–आँपटारी हुँदै बाइपास सडकमा सवारी गुडाउन दिन माग गरेका छन् । ‘हामीलाई पहिलेजस्तो पुलचोकमा गएर गाडी राख्न दिनुपर्छ भनेका छैनौँ’, प्रालिका अध्यक्ष बद्रि पौडेलले भने, ‘कम्तीमा पूर्वबाट आउने यात्रुलाई दोहोरो भाडाको मार नपरोस् भनेर सुविधा दिनमात्रै खोजेका हौँ ।’

त्यसरी आउने सडकलाई बसपार्क, चौबीसकोठी, पुलचोक, आँपटारी, विशालचोक हुँदै बसपार्क घुम्ने रिङरोडमा बस गुडाउँदा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउने र बाँकी सबै यात्रुलाई भाडादरको ४० प्रतिशतमात्रै भाडामा यात्रा गराउने उनको प्रस्ताव छ ।

महानगरपालिकाले सबै सार्वजनिक सवारीसाधनलाई समान व्यवहार गर्नुपर्ने पनि उनले बताए । ‘त्यही लोथरबाट आउने म्याजिकलाई बजार झर्न कुनै रोकतोक छैन’, अध्यक्ष पौडेलले भने, ‘ठूला बसलाई भने बसपार्कमै रोकेको छ ।’ अध्यक्ष पौडेलका अनुसार लोथर–भरतपुरका लागि दैनिक १२० वटा गाडी चल्छ । त्यसमा छहारीको मात्रै ८० वटा छन् । बाँकी चितवन माइक्रो र ओम शान्ति यातायातको सवारीसाधन चल्छ ।

भरतपुर महानगरपालिकाले भने हाललाई पूर्वी चितवनबाट आउने सवारीसाधनलाई बजार झार्नेभन्दा पनि बजार झर्ने म्याजिकलाई पनि रोक्ने बताएको छ । स्थानीय सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने भएकोले म्याजिकलाई पनि बसपार्कभन्दा कट्न नदिने भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । ‘जसरी पनि बसपार्क चलाउनै छ’, उनले भने, ‘त्यसैले बसलाई रोक्ने, म्याजिकलाई छोड्ने भन्ने हुँदैन । त्यसैले हामी म्याजिकलाई पनि रोक्छौँ ।’

म्याजिक सञ्चालकले बदमासी गरिदिँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘भोलि सडक विस्तारको काम सम्पन्न भयो भने लेनअनुसार हिँडाउन मिल्ने भएकोले फेरि बजारसम्म आउन दिने कि नदिने भन्ने विषयमा अर्को निर्णय गर्न सकिन्छ’, अध्यक्ष खनालले भने, ‘तर हाललाई सडकको अवस्थालाई मात्रै हेर्दा पनि पूर्वी चितवनबाट आउने सबैखाले सार्वजनिक सवारीसाधनलाई बसपार्कमै रोक्ने व्यवस्था मिलाउँदा बजारको ट्राफिक व्यवस्थापन धेरै सहज भएको छ ।’

यातायात व्यवसायीले उठाएका जायज मागलाई महानगरपालिकाले सम्बोधन गर्ने उनको भनाइ छ । ‘यातायात व्यवसायीले राखेका मागलाई महानगरको बोर्ड बैठकमा लैजान्छौँ’, उनले भने, ‘तर हाललाई बसपार्कबाट बजार आउन दिन सकिँदैन ।’