सुन तस्करी गर्न तस्कर समूहले खडा गरेका थिए ७ वटा नक्कली कम्पनी

काठमाडौं, भदौ २८ । हङकङबाट सुन तस्करी गरी नेपाल भित्राउन तस्कर समूहले ७ वटा नक्कली कम्पनी खडा गरेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानमा ७ वटा नक्कली कम्पनी खडा गरी सुन भित्राएको पाइएको हो ।

सिआइबीको अनुसन्धानमा टासी भन्ने थुप्तेङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिका नाममा नक्कली कम्पनीहरू दर्ता गराई अन्य सामानको नाममा सुन आयात गरेको पाइएको हो ।

सुन तस्करी गिरोहमा संलग्न हर्कराज राईले दिलीप भुजेल, कुमार भुजेल, रामकुमार भुजेल, विकुन्द्र भुजेल, राम बहादुर भुजेल, सरिता तामाङ र लेखनाथ कार्कीको नाममा डमी कम्पनी खडा गरेको पाइएको हो ।

हङकङ लगायतका देशबाट आयात गरिएका सामानहरू राख्ने प्रयोजनका लागि ७ मध्ये ६ वटा कम्पनीको सटर समेत भाडामा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्राप्त भएको सामान राख्ने गरेको पाइएको हो ।

सिआइबी स्रोतका अनुसार हर्कराज राईको समन्वयमा दिलीप भुजेलको नाममा रेडी ट्रेड प्रालि नामक कम्पनी स्थापना गरी बालुवाटारमा सटर लिएर राखिएको छ । त्यसैगरी कुमार भुजेलको नाममा हावडा इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिको नाममा कम्पनी स्थापना गरी सामाखुसीमा गोदाम राखिएको थियो ।

त्यस्तै रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज प्रालि नामक कम्पनी स्थापना गरी चाबहिलमा सटर स्थापना गरिएको थियो । त्यस्तै बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी स्थापना गरी लाजिम्पाटमा गोदाम स्थापना गरिएको पाइएको छ ।