टेन स्टार फुडको म्याद गुज्रिएको ‘ताजा चाउमिन’

भरतपुर, २९  भाद्र। रुपन्देहीको टेन स्टार फुड्स प्रोडक्सन प्रालिको उत्पादन ‘ताजा चाउमिन’ चितवनमा बिक्री हुन थालेको एक महिनाभन्दा बढी भयो । भरतपुर महानगरपालिका–१० स्थित चितवन पिया सप्लायर्समार्फत टेन स्टारले चाउमिन बिक्री थालेको हो । साउन २२ गते खुलेको डिलर महानगरमा दर्ता नभएको पाइएपछि बुधबार बन्द गराइएको छ । बिनादर्ता सञ्चालित चाउमिनको डिलरमा भेटिएको म्याद गुज्रिएको चाउमिन नष्ट गरिएको छ ।

भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा गएको अनुगमन टोलीले डिलर नै बन्द गरेको हो । बिनादर्ता सञ्चालित डिलरमा टेन स्टार फुड्सको म्याद गुज्रिएको चाउमिन पनि फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनकी खाद्य निरीक्षक बन्दना पन्तले बताइन् । म्याद गुज्रिएको चाउमिन र म्याद भएको सस एकै ठाउँमा राखेको र लेबल स्पष्ट नभएका केचअप भेटिएको उनले बताइन् ।

‘म्याद सकिएको र नसकिएको खाद्य पदार्थ एकै ठाउँमा थियो । केही चाउमिनको प्याकेटमा बुझिने खालको लेबल थिएन । रुपन्देहीबाट आउने चाउमिनमा कोल्ड चेन कायम भएको पनि पाइएन । डिलरको खाद्य पदार्थ भण्डारण गर्ने ठाउँ फोहोर थियो’, उनले भनिन्, ‘अवस्था सन्तोषजनक नभएकाले डिलर बन्द गराएका हौँ । बयानका लागि कार्यालयमा बोलाएका छौँ ।’

डिलर दर्ता नहुँदासम्म चाउमिनलगायत खाद्य पदार्थ बिक्रीवितरण गर्न रोक लगाइएको भरतपुर–१० का वडा अध्यक्ष खनालले बताए । ‘डिलर दर्ता नभएकाले प्रक्रिया पूरा गरेर सञ्चालन गर्न भनेका छौँ । दर्ता हुन आउँदा नियमानुसार जरिवाना लिएर व्यवसाय दर्ता गर्दिन्छौँ’, उनले भने । चाउमिनको डिलर सञ्चालकलाई भण्डारण स्थलमा सफासुग्घर कायम राख्न निर्देशन दिइएको उनले बताए ।

चाउमिन डिलर चितवन पिया सप्लायर्सका कर्मचारी यदुनाथ चापागाईंले म्याद गुज्रिएको चाउमिन कम्पनीमा फिर्ता पठाउन राखिएको बताए । ‘सीधै कम्पनीबाट आउने गाडीले नै चाउमिन बिक्री गर्ने हो । यहाँ भेटिएको म्याद गुज्रिएको चाउमिन मार्केटबाट फिर्ता आएको चाउमिन हो । कम्पनीमा पठाउन भनेर राखेका थियौँ, उनहरुले मेरो कुरै सुन्नुभएन’, उनले भने ।

वडामा दर्ता नभएकोमा भने उनले गल्ती स्वीकार गरे । डिलर केही दिनमै वडामा पनि दर्ता हुने उनले बताए । ‘डिलरको भण्डारणमा एउटा पनि ताजा चाउमिन थिएन । सबै चाउमिन फिर्ता पठाउन राखिएको हो’, उनले भने ।