लिबियामा ठूलो बाढी : २० हजार जनाले ज्यान गुमाएको आशङ्का, नेपाली शान्ति सैनिक सबै सुरक्षित

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ ।

पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तरराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् । बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पु¥याएका शव निकाल्ने काम भइरहेको छ ।

लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन्भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् ।

घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको  दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली जनता र सेनाका तर्फबाट बाढीपीडित जनतालाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत हस्तान्तरण गरिने छ ।

बाढीबाट सडक सम्पर्कसमेत विच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ ।  (रासस/एएफपी)