करेन्ट लागेर हुप्सेकोटमा एक जनाको मृत्यु

कावासोती, २९ भाद्र । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो हुप्सेकोट गाउँपालिका वडा नं ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट प्रहरीले जनाएको छ । बेलहानीको धर्मचोकमा ५५ वर्षीया मिना फालमगरको घरमा ब्लकको गारो लगाउने क्रममा मुखियालाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।

काठका मिस्त्री जीतबहादुर सार्कीले झ्यालढोकाको काम गर्ने क्रममा कुखुराको खोरको जालीमा करेन्ट सप्लाई भई मुखियालाई करेन्ट लागेको प्रहरीले बताएको छ । अन्यलाई भने केही नभएको बताइएको छ ।

घटना बिहीबार दिउँसो १२ बजेको आसपासमा भएको र भिखुर मुखियालाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उद्धृत गर्दै हुप्सेकोट प्रहरीले जनाएको छ । रौतहटबाट मृतकका आफन्ती नआउन्जेल शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिने प्रहरीले जनाएको छ ।