नेपालका डाक्टरहरु धमाधम विदेश पलायन, भन्छन्ः काम गर्ने वातावरण नै भएन

काठमाडौं,२९ भाद्र । नेपालमा सुरक्षित रोजगारीको अवसर नपाएको भन्दै चिकित्सकहरु धमाधम विदेश पलायन हुने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२० मा ८ सय ६९ जना चिकित्सकले अध्ययन तथा रोजगारीका लागि बाहिर जान प्रमाणपत्र लिए । विदेश जाँदा काउन्सिलबाट लिनुपर्ने यस्तो असल चारित्रिक प्रमाणपत्र सन् २०२१ मा १ हजार ३ सय २७ जनाले लिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सन् २०२२ मा १९ सय ५४ जनाले यस्तो प्रमाण लिएका छन् ।

यो वर्ष ४ हजार पुग्न सक्ने अनुमान काउन्सिलको छ । चीन, रुसलगायतका केही देशमा जान यस्तो प्रमाणपत्र नचाहिने भएकाले त्यसको तथ्यांक भने काउन्सिलसँग छैन । रजिस्ट्रार अधिकारीका अनुसार सबैभन्दा धेरै बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलियालगायत देशमा नेपाली चिकित्सक जाने गरेका छन् ।

नेपालमा रोगजारीको प्रत्याभूति तथा उचित पारिश्रमिक नपाउँदा चिकित्सक विदेशिने क्रम बढेको नेपाल चिकित्सक संघले जनाएको छ । देशमा चिकित्सक मैत्री वातावरण नहुँदा पनि विदेश मोह बढेको संघका अध्यक्ष डा.अनिल कार्कीको भनाइ छ । यता स्वास्थ्य मन्त्रालयले भने सबै चिकित्सकलाई रोजगारी तथा आर्थिक सुनिश्चितताको प्रत्याभूति दिलाउन समस्या रहेको बताएको छ । चिकित्सकमैत्री रणनीति बनाए पनि अन्य मन्त्रालयको सहयोग नपाएको स्वास्थ्य मन्त्रालयको गुनासो छ ।

नेपालमा ३२ हजार २ सय १८ चिकित्सक मेडिकल काउन्सिलमा दर्ता छन् । काउन्सिलका अनुसार बर्सेनि २ हजार चिकित्सक थपिने गरेका छन् ।