गैँडाकोटको ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

गैँडाकोट, २९ भाद्र ।  गैँडाकोट नगरपालिकाको पहाडी भूगोलमा पर्ने गैँडाकोट ३ मा थुप्रै पर्यटकीय स्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीय स्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लो समय काली गण्डकी कोरी रोड पिच भएसँगै गैँडाकोट नगरपालिका वार्ड नम्बर ३ मा पनि पर्यटक बढ्न थालेको छन् । यति बेला ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।भरतपुर बाट झन्डै १२ किलोमिटर को यात्रामा पुग्न सकिन्छ ढोडेनी ।

त्यस्तै गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पनि पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ काली गण्डकी चोकबाट झन्डै ३० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दो छ ।

यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरू आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “काली गण्डकी कोरिडोरमै पर्ने खोलामा शीतलता प्राप्त गर्न तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन चितवन तथा नवलपुरबाट मानिसहरू आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सहज यातायात तथा बजारबाट नजिकै रहेकाले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको छ ।”नवलपुरको गैँडाकोटबाट मात्रै नभई चितवनको भरतपुरबाट समेत सबैभन्दा नजिकको दूरीमा पर्ने महेश खोलामा पौडी खेल्न र मानिसहरू रमाइलो गर्न आउने गरेका उहाँका भनाइ छ । यहाँ विशेष गरी बिदाको दिनमा बढी आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाइ थियो ।