बुवा आज किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग?
त ठुलो मान्छे भएको हेर्ने सपना छ,
सपना के भनूँ, बिपनामा पनि चाहन्छु त ठुलो मान्छे भएको हेर्न,
तर तलाइ म तेहि १४ बर्से बालक देख्छु,
जुन बेला त एसएलसी पछि चितवन हिँडेको थिइस्,
मनभरि आशाको गह्रुँगो पोको बोकेर,
अनि गह्रुँगो मन बोकेर,
आँखा भरी आशुको गह्रुँगो भारी बोकेर,
अनि, गह्रुँगो र रात भरी रोएका ठुला आँखाहरू बोकेर,
एक जोर गह्रुङ्गा पाइलाहरू बोकेर,
अनि झोलामा २/४ जोर हलुङ्गो कपडाहरू बोकेर,
बुवा आज किन यस्तो कुरा गरिरहनु भा’छ म सँग।
सपना त धेरै देखेको थिए मैले तेरा लागि,
हुन त मैले मेरा लागि पनि कम सपना त कहाँ देखेको थिए र?
सोचेजस्तै सजिलो रहिनछ सपनाहरूलाई यथार्थ बनाउन,
जति सजिलो छ सपना देख्न,रङिन सपना,
त जे बन्छस् त्यसमा म खुसी हुन्छु भन्थे,
किनकि त जे बन्छस्, त्यसमा त खुसी हुन्छस्,
किनकि, त जेमा खुसी हुन्छस्, त्यसमा पनि खुसी हुन्छु,
किनकि त जे बन्छस्, त मनैबाट बन्छस्, आफ्नै लागी बन्छस्,
तर,अचानक,
सायद तैँले सर्प्राइज दिन खुसी हुँदै भनिस्,
आर्मीमा अन्तरवार्ता छ, अन्तिम अन्तर्वार्ता,
तेरो खुसीमा म पहिलो पटक बेखुसी भए,
सोच्थे, छोरो आर्मी नबनोस् अरू सब थोक बनोस्,
मलाइ आर्मी पेसा मन नपरेर होइन बाबु,
सानोमा त चकचक गरेको बेला,
खेलेर घरमा समयमा न आएको बेला,
याद होला नि तलाइ कति गराउँथे,
सजायको नाममा, आर्मीको कसरतहरू,
यो पनि याद होला, एकचाेटी पनि कहिले नपिटी,
पिटाइ नखाई खेलाउँथे तेरा तातेका रगतहरू,
डरले थर्थर काँप्थे तेरा गोडाहरू,
आँसु भलभल बगाउँथे तेरा आँखाहरू,
सजिलै बुन्न सक्थे त्यति बेलाका तेरा पिडाहरू,
साँच्चै ,तलाइ दुख भएको म देख्न सक्थिन छोरा,
त त थिइस् हाम्रो परिवार को मुख,
सुखको सानो निशानी अनि ठुलो हिस्सा।”
बुवा आज किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग?
त साँच्चिकै सबैभन्दा भाग्यमानी छस् छोरा,
तेरो ठुलो अनि फराकिलो निदार भएर भन्या होइन,
तेरो ठुलो सपना अनि साकार पार्ने सङ्कल्प भएर भन्या,
तर कैले काहीँ त तलाइ सबैभन्दा अभागी जस्तो लाग्छ,
सबै आशाहरू तेरो नजिकै आउँछन् ,
अनि किन किन सब डराएर भाग्छन्,
त्यस्तै भयो सायद,
डिभी पर्यो तलाइ अमेरिकाको,
तर मेरो मन बेखुसीमा फिका फिका भो,
दोस्रो पटक तेरो खुसीमा बेखुसी,
म चाहन्थे,त सधैँ मेरो वरिपरि नजिक बसेस्,
फेरि म दोस्रो पटक तेरो असफलता मा खुसी भये,
जब तेरो प्रोसेस क्यानशील भएर आयो
बुवा किन यस्तो कुरा गरिरहनुभएछ म सँग आज?
वास्तवमा तेरो कुनै सपना पूरा भयेकै छैन है छोरा?
कति असफल भएर पनि सफलताको आस गरिराछ्स,
बेखुसी मा पनि सधैँ खुसी भैराछस्,
वास्तवमै खुसी हुन त कसैले त सँग सिकोस्,
रहर लाग्दो सपना लाई बोकेर पनि,
जहर लाग्दो बिपना मा रमाइला’छस्,
वास्तवमै रमाउन त कसैले त सँग सिकोस्,”
बुवा आज किन यस्तो कुरा गरिरहनु भा’छ म सँग?
मलाइ एक कुरा मा अहिले पछुतो लगिरा’छ बाबु,
तेरो डाक्टर बन्ने सपना पूरा गर्न नसकेको मा,
मेहनत खुब गरिस्,नाम पनि निकालेछस् एमबिबिएसमा,
म खुसी भये, तर डोनेसनमा? म दुखी भए,
मेरो बुवा गाउँकै जमिनदारको छोरा,
तर त, जमदारको छोरा ,जमिनदारको होइन,
तर त, एकदमै दमदार बाउको छोरा, एकदमै दामदार होइन,
पूरा हुन सकेनन् तेरा कुनै पनि सपनाहरू,
म चाहन्थे निर्भर हुन त मा, बुढेसकालमा,
तर तँलाई नै आत्मनिर्भर बनाउन सकिन,
यस कारण पनि म आर्मी भएको हेर्न चाहन्थे तलाइ,
कि जुन दिन तेरो आयो,त्यो दिन तेरो छोराको न आयोस्,
हुन त म त्यति गरिब पनि त थिइन,
तर त आफैले कुरा बुजेछ्स्,
मेरो पेन्सन पत्ता को २० हजारको मासिक पेन्सन रकम हेरेर,
अहिले पछुतो लगिरा’छ छोरा,
सायद तलाइ डाक्टर बनाउन पाको भए,
म यति छिटो जान्थिन होला यो सन्सार बाट ,फेरि अस्पताल बाट ?
बचाउथिस कि छोरा मलाइ,साँच्चै बचाउथिस नि है?
तर अब सब ढिलो भएछ छोरा,
कस्तो विडम्बना,
त आर्मी पनि बनिनस्,
न त डाक्टर बनेर अस्पताल नै गइस्,
कस्तो संयोग,
मेरो अन्त्य आर्मी अस्पतालमै भयो”
मेरो बुवा किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग?
बुवाको यति धेरै कुरा सुनिसकेपछि,
आत्तिँदै केही बोल्न खोजे,
“के कुरा गर्नुभएको बुवा यस्तो आज म सँग?”
म त एक्कासि ब्यु जिएछु,
ओहो! सपना पो देखिया रहिछु मैले त,
बिस्तारै डराउँदै बत्ती अन गरे कोठाको,
यताउति हेरे, देखिन बुबालाई, मात्र देखे,
उहीँ भित्तामा झुन्डिएको मालासहित को बुवाको हँसिलो, मुस्कुराइरहेको तस्बिर।।।
पोख्रेलको अप्रकाशित ‘हराएका सपनाहरू’ कविता सङ्ग्रहबाट