नारायणगढ गोन्द्राङ सडकमा ६० करोडको काम गर्न ५ करोड विनियोजन

चितवन, ३० भाद्र ।  चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्मको सडक ६ लेनमा विस्तार गर्ने कामका लागि सरकारले चालु आर्थिक बर्षमा जम्मा ५ करोड मात्रै रकम विनियोजन गरेको छ ।

६ किलोमिटर लामो सडक विस्तारको म्याद आउने मंसिरसम्म छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक विस्तारको करिब ७० प्रतिशत काम सकिएको छ ।

सडक विस्तार गरिरहेको ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनले सरकारले चालु बर्षका लागि छुट्याएको रकम बराबरको काम गरिसकेकोले भुक्तानीका लागि बिल पेश गर्ने तयारी गरेको छ । ‘साउनयता नै ५ करोडको काम गरिसकेका छौं’, ठेकेदार कम्पनीका प्रमुख सहदेव खड्काले भने, ‘भुक्तानीका लागि बिल बनाउने काम भइरहेको छ ।’

१ अर्ब २३ करोड रुपैयाँ कुल लागत रहेको यो सडकमा निर्माण कम्पनीले ७२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । मंसिरसम्मको ३ महिनाको अवधिमा ठेकेदार कम्पनीले बाँकी ३० प्रतिशत काम सकेमा उसलाई थप ६० करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ । तर सरकारले ५ करोड रुपैयाँ मात्र दिएकाले थप बजेट सरकारले नदिए सडक विस्तारको काम प्रभावित हुने देखिएको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने तयारी गरिहदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले सडक विस्तारमा बजेटको अभाव हुने देखिएकाले रकम माग्ने प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार पुसभन्दा अगाडि थप रकम आउने सम्भावना कम हुन्छ । ठेकेदार कम्पनीले भरतपुरको रिजालचोकदेखि गोन्द्राङसम्म सडक कालोपत्रे गर्नुअघिको काम सकेको छ । सडकपेटीहरुको काम बाँकी छ ।

माथिल्लो सतहमा कालोपत्रे पनि बाँकी नै छ । रिजालचोकेदेखि पुल्चोकसम्मको सडकमा काम अहिले भइरहेको छ । रिजालचोकदेखि भरतपुर ओरालोसम्म दुबै भागमा सर्भिस लेन बनेको छ भने, बीचको मूलखण्डको काम पपन भइरहेको छ ।

बजार क्षेत्रमा तल्लो भागको सर्भिस लेनको काम हुँदैछ । त्यसलाई सकेपछि मात्रै उपल्लो भागको सर्भिस लेनमा काम गर्ने योजना ठेकेदार कम्पनीको छ । बर्खायाममा वर्षा र हिलोका कारण काम गर्न समस्या परेको सडक डिभिजन कार्यालयका प्रमुख पौडेलले बताए । दसैंसम्म बजारको तल्लो सर्भिस लेन सक्ने योजना छ ।

भरतपुर भ्रमण बर्षको सुरुवातसम्म बजार क्षेत्रमा कालोपत्रे सक्ने योजना रहेको डिभिजन प्रमुख पौडेलले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौमा शिलान्यास गरेको सडक विस्तारको म्याद २०७९ फागुनमा सकिएपछि २०८० मंसिरसम्म म्याद थप गरेको थियो ।

समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायीहरू मर्कामा परेका छन् । उद्योग वाणिज्य संघ चितवनले सडक विस्तार समयमा नसक्दा व्यवसाय चौपट भएको भन्दै सडक डिभिजन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा चाडै काम सक्न माग गर्दै दवाव दिँदै आएका छन् ।