भरतपुर महानगरद्वारा डिलर दर्तामा रोक ! वडाध्यक्षको तोक आदेश तर प्रमुख प्रशासकीयले गरेनन् दर्ता

भरतपुर,०२ आश्विन। भरतपुर महानगरपालिकाले जिल्लाबाहिरको उद्योग भएकै कारण डिलर दर्तामा रोक लगाएको छ । रुपन्देहीको टेन स्टार फुड्स प्रोडक्सन प्रालिको डिलर भरतपुर–१० स्थित चितवन पिया सप्लायर्स दर्ता गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले रोक लगाएका हुन् । उक्त डिलर दर्ता गरिदिन वडा अध्यक्ष परमेश्वर खनालले तोक आदेशसमेत दिइसकेका थिए ।

वडा अध्यक्ष खनालको नेतृत्वमा भदौ २७ गते गएको अनुगमन टोलीले बिनादर्ता सञ्चालन भएको भन्दै चितवन पिया सप्लायर्स बन्द गराएका थिए । वडाध्यक्षले प्रक्रिया पूरा गरेर आउन भनेबमोजिम डिलर सञ्चालक आइतबार वडा कार्यालय गए । वडाध्यक्षले तोक आदेश दिइसकेपछि वडा सचिव पदमबहादुर अधिकारीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले फोन गरेर डिलर दर्ता नगर्न निर्देशन दिएका हुन् ।

‘दर्ता हुन आएको व्यवसायको विरूद्धमा महानगरमा उजुरी परेको सुनेँ । मैले प्रमुख प्रशासकीय अधिकृतज्यूसँग सोधेपछि राजस्व परामर्श शाखासँग परामर्श लिएर गर्नुहोला भन्नुभो’, उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत भनेको मेरो हाकिमसाप हो । उहाँको र राजस्व परामर्शको निर्देशन भयो भने म दर्ता गर्दिन्छु । महानगरबाट तत्काल नगर्नू भनेकोले मैले दर्ता नगरेको हुँ ।’

टेन स्टार फुड्सले भरतपुरमा सस्तोमा चाउमिन बिक्री गरेको भन्दै यहाँका उद्योगीहरु असन्तुष्ट छन् । स्थानीय उद्योगीले टेन स्टारलाई यहाँबाट लखेट्न चाहन्छन् । टेन स्टारले सडेको चाउमिन बिक्री गरेको भन्दै उनीहरुले वडा कार्यालय, महानगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी हालेका थिए । टेन स्टारले खाद्य अनुज्ञापत्र लिइसकेकाले पुनः परीक्षण नगर्दासम्म अखाद्य भन्न नमिल्ने बताएको छ । यही विवादका बीच आइतबार टेन स्टारका कर्मचारीमाथि भरतपुर–४ मा आक्रमण भएको छ ।

कर्मचारी विष्णु लामिछानेले आफूहरुलाई कुटपिट भएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । चाउमिन उद्योगी युवराज पाण्डेको नेतृत्वमा केही महिलाहरुले चाउमिन बिक्री गर्न हिँडेका बेला गाडी रोकेर हातपात गरेको उनले बताए । भिडियो बाहिरिएपछि पाण्डेलगायतका उद्योगीले पत्रकार सम्मेलन गरी टेन स्टारका कर्मचारीले नै आफूहरुमाथि हातपात गरेको आरोप लगाए ।

भरतपुरका चाउमिन उद्योगी युवराज पाण्डेले टेन स्टारले चितवनको बजार कब्जा गर्न न्यून मूल्य राखेर चाउमिन बिक्री गरिरहेको बताए । ‘उहाँहरुले अस्वस्थ प्रतिस्पर्धालाई प्राथमिकता दिनुभएको छ । चितवनको बजार कब्जा गर्ने र यहाँका उद्योग बन्द गराएर पुँजीको एकाधिकार कायम गर्ने उहाँहरुको योजना छ’, उनले भने ।

टेन स्टार फुड्सका सञ्चालक प्रेमलाल पाण्डेले खुला बजार नीतिमा जुनसुकै वस्तु देशको जहाँसुकै गएर पनि बिक्री गर्न पाउनुपर्ने बताए । ‘चितवनका उद्योगी व्यवसायीले सिन्डिकेट चलाएको अवस्था थियो’, उनले भने ।

कर्मचारीमाथि हातपात

आफ्ना कर्मचारीमाथि हातपात भएको भन्दै टेन स्टारले वडा प्रहरी कार्यालय नारायणगढमा उजुरी हालेको थियो । उजुरी परेपछि वडा प्रहरी प्रमुख वसन्त पाण्डेले उद्योगी युवराज पाण्डेलाई कार्यालय झिकाएर दुई पक्षबीच छलफल गराएका थिए । सार्वजनिक भिडियोमा पाण्डेले आक्रमण गरेको नदेखिएपछि आक्रमण गर्नेको खोजी गर्ने सहमति भएको छ ।

भिडियोमा मुना पाण्डेलगायतले टेन स्टारका कर्मचारीलाई हातपात गरेको देखिन्छ । मुना उद्योगी युवराजकी बहिनी हुन् । मुनाले भने स्थानीयलाई टेन स्टारका कर्मचारीले हातपात गरेपछि छुट्टयाउन गएको बताएकी छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । चाउमिन बिक्री गर्ने सन्दर्भमा भने कानुनबमोजिम बिक्रीवितरण गर्न पाउने सहमति भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले लेबल स्पष्ट बुझिने गरी खाद्य पदार्थ बिक्रीवितरण गर्न पाइने बताए । उद्योगले अनुज्ञापत्र लिइसकेको हुनाले बिक्रीवितरण गर्न पाउँछ’, उनले भने ।