गणेश चतुर्थीमा भरतपुरको गणेशधाममा भक्तजनको भीड

चितवन,०२ आश्विन । आज गणेश चतुर्थी पर्वका दिन चितवनको भरतपुर ११ स्थित गणेश धाममा भक्तजनको भीड लागेको छ । ऐतिहासिक तीर्थस्थल गणेशधाममा गणेशको पुजा गर्न भक्तजनको बिहानैदेखि लामो लाइन लागेको छ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्वमा यहाँ बिशेष पुजाआजा हुन्छ ।

गणेशधाम संरक्षण संबर्द्धन समितिका उपाध्यक्ष रविन्द्र बरालले आज दिनभर गणेशधाममा भक्तजनको भिड लाग्ने बताउनुभयो । मनोकांक्षा पुरा हुने विश्वासका साथ गणेशधाममा चितवनसहित नवलपुर, मकवानपुर लगायत आसपासका जिल्लाबाट पनि भक्तजन आउने गर्छन् । गणेशधाम क्षेत्र बहुभगवानको थान भएकाले पनि हरेक चाडपर्वमा भक्तजन पुग्ने गरेको बराल बताउनुहुन्छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेका कारण भक्तजनको भीड बढेको उहाँको भनाई छ ।

गणेशधाम संरक्षण संबर्द्धन समिति २०७५ सालमा गठन भएको हो । समितिले पूर्वाधार निर्माणसँगै पुराना मन्दिरका पुनः सवलीकरण गरेको समितिका महासचिव सन्तोष पन्तले जानकारी दिनुभयो । उहाँले गणेशधामको एकीकृत विकासका लागि विभिन्न भौतिक संरचनाहरु निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।

गणेशधाममा गणेश चतुर्थी, गणेश पञ्चमी, शिवरात्री, सरस्वती पूजा, बडा दशैँ लगायतका चाडपर्वमा पूजा आराधना गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।