निकुञ्जले भत्कायो माडी कुसुमखोलामा २० घर

माडी, ०३ आश्विन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरी मंगलबार दिउँसो माडी–९, कुसुमखोलामा २० वटा घर भत्काएको छ ।

निकुञ्जको बगही पोस्टबाट २ वटा हात्ती लिई पुगेका सेना र निकुञ्जका कर्मचारी गरी ९ जनाको टोलीले कुसुमखोला गाउँस्थित २१ मध्ये २० वटा कच्ची घरहरु भत्काएका हुन् ।

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको १ वटाबाहेक निकुञ्जले २० वटा घरहरु भत्काई आफूहरुलाई बेघर बनाइदिएको कुसुमखोलाका काजीमान चेपाङले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रको जंगल अतिक्रमण गरेर विभिन्न स्थानबाट आएका व्यक्तिहरुलाई घरटहरा बनाउने र खेतीपाती लगाउने कार्य तत्काल बन्द गर्न पटकपटक आग्रह गर्दा पनि आफूहरुको आग्रहलाई बेवास्ता गर्दै टहरा बनाउने क्रम बढेकाले बाध्य भएर चेतावनीस्वरुप टहराहरु भत्काइएको बताए ।

नेपालको कानुनले नै मध्यवर्ती क्षेत्रको जंगल तथा सार्वजनिक क्षेत्रमा अतिक्रमण गरेर घरटहरा बनाउने र खेतीपाती लगाउले कार्यलाई नेपालको कानुनले गैरकानुनी कार्यको रुपमा परिभाषित गरेको उल्लेख गर्दै कानुन उल्लङ्घन गर्ने कसैलाई छूट नभएको बताउँदै उनले कानुन उल्लङ्घन गरेर त्यस क्षेत्रमा पुनः घरटहरा बनाइएमा आफूहरु फेरि पनि उक्त क्षेत्रलाई खाली गर्न बाध्य हुने बताए ।

करिब ३ वर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो भने गत वर्ष मंसिरमा स्थानीयकै घरबाट बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको थियो । जनताका घरमा आगजनी गरेको भन्दै व्यापक विरोध भएसँगै निकुञ्जले आगो नलगाई पटकपटक घरहरु भत्काइदिने गरेको हो । कुसुमखोलामा चितवन र मकवानपुरका विभिन्न स्थानबाट आएका चेपाङ परिवारहरु बस्ने गरेका छन् ।