चाउमिन उद्योगीको विवाद प्रकरण, व्यवसाय दर्ता गरिदिन लेखा प्रमुखको निर्देशन

भरतपुर, ०३ आश्विन । भरतपुर महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाको निर्देशनमा दर्ता रोकिएको भरतपुर–१० स्थित चितवन पिया सप्लायर्समा मंगलबार महानगरको लेखा प्रमुख जगन्नाथ अर्यालले निरीक्षण गरेका छन् ।

निरीक्षणपछि व्यवसाय दर्ता गरिदिन अर्यालले वडा सचिव पदमबहादुर अधिकारीलाई निर्देशन दिएका छन् । चाउमिन उद्योगीबीचको विवादका कारण उक्त व्यवसाय दर्ता हुन सकेको थिएन ।

महानगरको लेखा शाखा प्रमुख अर्यालले व्यवसाय दर्तामा कुनै समस्या नरहेको बताए । ‘उहाँले सम्पूर्ण कागजपत्र मिलाएर महानगरमा पेस गर्नुभएको रहेछ । गलत बुझाइका कारण रोकिएको रहेछ’, उनले भने, ‘अब उहाँ आएपछि महानगरले आर्थिक ऐन, २०८० बमोजिम व्यवसाय कर लिएर व्यवसाय इजाजत दिन्छ ।’ व्यवसायले खाद्यवस्तुको खरिद–बिक्री गर्न पाउने गरी इजाजत पाउने भएको हो ।

टेन स्टार फुड्सको चाउमिन खरिद–बिक्री गर्दै आएको चितवन पिया सप्लायर्समा केही दिनअघि अनुगमनका क्रममा म्याद गुज्रिएको र नगुज्रिएको खाद्यवस्तु एकै ठाउँमा भेटिएको थियो । उक्त व्यवसाय महानगरमा दर्तासमेत भएको थिएन ।

प्रक्रिया पूरा गरेपछि पनि महानगरमा उजुरी परेको भन्दै व्यवसाय दर्तामा रोक लगाइएको थियो । यस क्रममा रुपन्देहीको चाउमिन चितवनमा सस्तोमा बिक्री हुन थालेपछि यहाँका उद्योगी आक्रोशित भएका थिए ।

त्यस्तै, टेन स्टारका कर्मचारीमाथि आफूले हातपात नगरेको सामाजिक अभियन्तासमेत रहेकी मुना पाण्डेले दाबी गरेकी छन् । उक्त कम्पनीका कर्मचारी विष्णु लामिछानेले चाउमिन बिक्री गर्न जाने क्रममा आफूमाथि हातपात भएको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।

उक्त भिडियोमा ‘सडेको चाउमिन बिक्री गर्ने’ भन्दै पाण्डेले लामिछानेलाई लछारपछार गरेको देखिन्छ । पाण्डेले भने लामिछानेले स्थानीय महिलालाई दुर्व्यवहार गरेपछि आफूले पन्छाउन गएको बताउँदै आएकी छन् । यो घटना प्रहरीमा पुगेको छ ।