विद्यालय शिक्षा विधेयकप्रति शिक्षकको असन्तुष्टि : विद्यालय बन्द गरेरै आन्दोलनमा

भरतपुर, ०३ आश्विन । चितवनका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय नै बन्द गरेर काठमाडौँमा हुन लागेको आन्दोलनमा सहभागी हुने भएका छन् ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आज बुधबारबाट काठमाडौँकेन्द्रित आन्दोलनको घोषणा गरेको छ । चितवनका सामुदायिक विद्यालयका शिक्षकहरु सोही आन्दोलनमा सहभागी हुन मंगलबारदेखि नै काठमाडौँतर्फ प्रस्थान गरेका छन् ।

नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेले चितवनबाट सामुदायिक विद्यालयका करिब दुई हजार शिक्षक काठमाडौँको आन्दोलनमा उत्रने बताए । उनले भने, ‘नेपाल शिक्षक महासंघ चितवनको नेतृत्वमा चितवनबाट एक दर्जन ठूला बसहरु काठमाडौँका लागि छुटेका छन् ।’

उनका अनुसार कुनै बसहरु पोखरा बसपार्क र कुनै केन्द्रीय बसपार्कबाट छुटेका हुन् । अध्यक्ष घिमिरेले भने, ‘चितवनबाट लगभग सबैजसो शिक्षकहरु आन्दोलनमा सहभागी हुनेछन् ।’

उनका अनुसार बुधबार दिउँसो माइतीघर मण्डलामा देशभरका शिक्षकहरुको विशाल प्रदर्शन हुनेछ, जहाँ चितवनका शिक्षकहरुको सक्रिय सहभागिता रहनेछ ।’ उनले महासंघको आन्दोलनमा चितवनका सबै राजनीतिक दलनिकट शिक्षक संघ/संगठनहरुले ऐक्यबद्धता जनाएको बताए ।

शिक्षकहरुको आन्दोलनमा नेपाल शिक्षक महासंघ चितवन, नेपाल शिक्षक संघ चितवन, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवन, अखिल नेपाल शिक्षक संगठन चितवन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले ऐक्यबद्धता जनाएका छन् ।

६ वटा शिक्षक संगठनहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरी असोज ३ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गरी काठमाडौँकेन्द्रित हुने आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । शिक्षा दिवस तथा संविधान दिवसलगायतका कार्यक्रमहरु शिक्षकहरुको आन्दोलनले ओझेलमा पर्ने देखिएको छ । शिक्षा मन्त्रालयको सम्पूर्ण कार्यक्रम शिक्षकहरुले बहिष्कारसमेत गरेका छन् ।

नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष घिमिरेले विद्यार्थी, अभिभावक, शिक्षक सबैको हितमा आन्दोलन भएको हुनाले सबैको सहभागिता हुने विश्वास गरे । उनले भने, ‘यो आन्दोलन विद्यार्थीको भविष्यका लागि हो, अभिभावकको हितका लागि हो, शिक्षकको पेसागत सुरक्षाका लागि हो ।’

उनले आन्दोलनका कारण दुई–चार दिन विद्यार्थीको पढाइ प्रभावित हुन सक्ने बताए । उनले भने, ‘सरकारले हाम्रो कुरा तत्काल सुन्यो भने आन्दोलन फिर्ता हुन सक्छ, तर सरकारले हाम्रो कुरा सुनेन भने आन्दोलन निरन्तर चल्छ ।’ उनले विद्यार्थीको पठनपाठनको क्षतिपूर्ति तिर्ने दाबी गरे ।

उनले भने, ‘जति दिन आन्दोलनले पढाइ प्रभावित हुन्छ त्यति दिन हामी बिदामा समेत पढाएर क्षतिपूर्ति तिर्नेछौँ ।’ भरतपुर माविका प्राचार्य खेमनारायण पौडेलका अनुसार शिक्षकहरु बाध्यताले आन्दोलनमा उत्रनु परेको बताए । उनले भने, ‘यो रहरको आन्दोलन नभएर बाध्यताको हो, देशभरका सबै पार्टीनिकटका शिक्षकहरु आन्दोलनमा किन होमिएका छन् त ? शिक्षकको भित्री मर्का सरकारले बुझेकै छैन ।’ उनका अनुसार विद्यालय शिक्षा विधेयकप्रति शिक्षकहरुको धेरै असन्तुष्टि रहेको छ ।

शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्तामा बसेर समाधान निकाल्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको छ । आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारले आग्रह गरेको छ, तर शिक्षकहरु वार्तामा नबस्ने अडान लिएका छन् ।

नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेले सचिवस्तरको वार्तामा सहभागी नहुने बताए । उनले भने, ‘यस्ता वार्ता धेरै भए, सबै उधारोमात्रै रहे । सचिवस्तरीय वार्ताले समाधान गर्न सक्दैन । वार्ताबाट पटकपटक धोका पाइएको छ, विगतको वार्ताको सहमति कार्यान्वयन नभएसम्म हामी वार्तामा बस्दैनौँ ।’

नारायणी नमुना माविका पूर्वप्रअ पूर्णप्रसाद दवाडीले काठमाडौँमा आज बुधबार हुने आन्दोलन निर्णायक बन्ने दाबी गरे । उनले भने, ‘देशभरबाट शिक्षकहरु आइरहेका छन्, वार्तामा शिक्षकहरु बसेनन्, कुनै पनि आन्दोलनका कार्यक्रम स्थगित भएका छैनन् ।’

शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्यालको हस्ताक्षर भएको विज्ञप्तिमाफर्त शिक्षकहरुलाई वार्तामा बोलाइएको थियो । शिक्षकहरु सहसचिवस्तरीय वार्ताले कुनै समाधान नदिने भन्दै वार्तामा सहभागी नभएका दवाडी बताउँछन् ।