शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, यसलाई हामी सच्याउने छौँ, विद्यालय बन्द नगरौंः गगन थापा

काठमाडौं, असोज ४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन‍्।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्।  शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन्।

शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्।