भरतपुर महानगरको रातो किताव सार्वजनिक : योजनामा ल्यान्डफिल साइटदेखि रङ्गशालासम्म

भरतपुर, ६ आश्विन । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को योजना (रातो) किताब सार्वजनिक गरेको छ । योजना किताबमा चालू आवका विभिन्न कार्यक्रम/आयोजनाहरुको शीर्षक र विनियोजित बजेट उल्लेख गरिएको छ । महानगरले चालू आवका लागि छ अर्ब ३१ करोड ७९ लाख रूपैयाँको बजेट ल्याएको थियो ।

महानगरले सेवा प्रवाह र प्रशासनमा ८५ करोड रूपैयाँ विनियोजन गरेको छ । यसअन्तर्गत कर्मचारीको पारिश्रमिकका लागि मात्रै २१ करोड रूपैयाँ छुट्टयाइएको छ । त्यस्तै, पदाधिकारी सुविधामा चार करोड, पोसाकमा एक करोड, महँगी भत्तामा एक करोड २५ लाख, अन्य भत्तामा पाँच करोड, कर्मचारी कल्याण कोषमा छ करोड, इलेक्ट्रिक बस खरिद गर्न एक करोड २० लाख, ल्यान्डफिल साइटका लागि इआइए र आइइई गर्न २५ लाख रूपैयाँ राखिएको छ ।

नगरस्तरीय योजनाअन्तर्गत सहरी पूर्वाधार तथा भू–उपयोग र बस्ती विकास कार्यक्रमका लागि ८६ वटा योजना छनोट भएका छन् । त्यसका लागि १६ करोड रूपैयाँ छुट्टयाइएको छ । जसअन्तर्गत स्मार्ट सार्वजनिक शौचालयका लागि एक करोड रूपैयाँ राखिएको छ । युवा तथा खेलकदुमा चालू तथा पुँजीगत गरी ३५ योजनालाई दुई करोड छुट्टयाइएको छ । शैक्षिक उन्नयनमा १०८ योजना छन्, जसका लागि १३ करोड रूपैयाँ विनियोजन भएको छ ।

राजस्व प्रशासन तथा वित्तीय सुशासनका नौवटा योजना÷कार्यक्रम कार्यान्वयन गर्न एक करोड र सूचना प्रविधि प्रयोग तथा डिजिटल प्रणालीका १७ योजनालाई छ करोड ९० लाख रूपैयाँ छुट्टयाइएको छ । डिजिटल प्रणालीअन्तर्गत डिजिटाइजेसन कार्यक्रमका लागि तीन करोड रूपैयाँ राखिएको छ । पशुसेवा विकास कार्यक्रममा ४७ योजना छन्, जसका लागि आठ करोड रूपैयाँ राखिएको छ ।

पशु कार्यक्रमअन्तर्गत प्रतिलिटर दूधमा तीन रूपैयाँ अनुदान कार्यक्रममा मात्रै पाँच करोड ५० लाख रूपैयाँ छुट्टयाइएको छ । कृषिमा ४१ योजना छन् । ती योजना कार्यान्वयन गर्न सात करोड रूपैयाँ छ । रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धनका १२ योजना छन्, जसका लागि एक करोड रूपैयाँ छ ।

पर्यटन तथा उद्योग क्षेत्रमा १७ योजना छन्, यसका लागि चार करोड रूपैयाँ विनियोजन गरिएको छ । पर्यटनअन्तर्गत पर्यटन भ्रमण वर्षका लागिमात्रै तीन करोड रूपैयाँ छुट्टयाइएको छ । महानगरले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । त्यसका लागि बजेट छुट्टयाएको हो । भ्रमण वर्षका लागि बागमती प्रदेशले पनि बजेट विनियोजन गरेको छ ।

वातावरण तथा हरियाली प्रवद्र्धनमा ३७ योजनाका लागि १२ करोड ७९ लाख ९१ हजार रूपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत हरियाली महानगरपालिका कार्यक्रमका लागि चार करोड र ल्यान्डफिल साइट पूर्वाधार निर्माणका लागि तीन करोड छुट्टयाइएको छ । लामो समयदेखि नीति तथा कार्यक्रममा समेटिएर पनि बन्न नसकेको ल्यान्डफिल साइटका लागि यसपटक महानगर आफैँले बजेट राखेको छ ।

लक्षितवर्ग उत्थान, सशक्तीकरण एवम् सामाजिक समावेशीकरणमा ३४ योजना छन्, जसका लागि दुई करोड छुट्टयाइएको छ । निजी क्षेत्रसँगको सहकार्यमा लगानी सम्मेलनलगायत कार्यक्रम गर्न २० लाख ३२ हजार, कर्मचारी प्रशासन, जनशक्ति तथा सुशासनमा ८० लाख, विपद् तथा प्रकोप व्यवस्थापनमा ५५ लाख, स्वास्थ्यमा चार करोड, नियमित सडक मर्मतसम्भारमा पाँच करोड र आव २०७९÷८० मा स्रोत सुनिश्चितता भएका योजनालाई पाँच करोड रूपैयाँ राखिएको छ ।

योजनाहरुमा जनसहभागिता ५० करोड, विशेष आकस्मिक पूर्वाधार निर्माणमा सात करोड ८५ लाख र २९ वटा वडालाई दुई करोड ६५ लाखका दरले ७६ करोड ८५ लाख रूपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारबाट हस्तान्तरित समपूरक साझेदारीअन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई तीन करोड रूपैयाँ परेको छ । संघीय सरकारबाट हस्तान्तरित १५८ योजना तथा कार्यक्रमका लागि एक अर्ब ३५ करोड रूपैयाँ छ ।