रविको निर्वाचन क्षेत्रमा निरन्तर निःशुल्क स्वास्थ्य शिविर,३५ सयले लिए लाभ

चितवन,६ आश्विन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएको १०० औँ दिनमा घोषणा गरेको मोबाइल क्लिनिक (निःशुल्क स्वास्थ्य शिविर)बाट हालसम्म ३५ सय जनाले सेवा लिएका छन् । चितवन–२ लाई लक्षित गरी साउन १७ गतेबाट सुरु गरिएको यस स्वास्थ्य शिविरबाट सबै उमेर समूहका नागरिकले सेवा लिएका हुन् ।

सांसद रवि लामिछानेको सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालका अनुसार हालसम्म चितवन २ मा पर्ने कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा मध्ये ९ वटा वडामा स्वास्थ्य शिविर भएको छ । उनले भने, ‘आइतबारबाट हामीले चितवनको एक मात्र गाँउपालिका इच्छाकामना गाँउपालिमामा स्वास्थ्य शिविर कार्यक्रम सुरु गर्छाैँ । स्वास्थ्य शिविरमा बिहीबार मात्रै २१५ जनाले सेवा लिएका थिए ।’

पार्टीले मुख्यतया ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई प्रथमिकतामा राखेर कार्यक्रम सुरु गरेको भएपनि अन्य व्यक्तिले पनि सेवा लिएको उनले जानकारी दिए । स्वास्थ्य शिविरमा चिकित्सकले स्वास्थ्य जाँचगरी औषधी दिने र अवस्था जटिल भएका सेवाग्राहीलाई थप उपचारको लागि सरकारी अस्पताल पठाइएको बरालको भनाइ छ । शिविरमा सेवाग्राहीले सबै किसिमका औषधी उपलब्ध गराउन आग्रह गर्ने गरेको उनले बताए ।

‘हामी यो स्वास्थ्य शिविरलाई समय अनुरुप अगाडि बढाउँदै लैजाने भएकोले छुटेका व्यक्ति आगामी दिनमा सम्पर्कमा आउन सक्नुहुन्छ । शिविर सञ्चालन गर्दैगर्दा उपचार गराउन शिविरस्थल आउन नसक्ने हुनुहुन्छ भने हामी घरमै डाक्टर लगेर पनि उपचार गर्छाैँ’, उनले भने ।
स्वस्थ चितवन अभियान अन्तर्गत मुख्यगरी अस्पताल जान नसक्ने व्यक्तिलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर निरन्तर रुपमा सञ्चालन हुने रास्वपा भरतपुर–११ का सभापति विक्रम श्रेष्ठले बताए । बिहीबार भरतपुर–११ को गणेशथानमा र शुक्रबार भोजाडमा शिविर भएको थियो । स्वास्थ्य शिविरमा आउने सेवाग्राहीले स्वास्थ्य बीमाको औषधी लिन धेरै समस्या भएको बताउने गरेको उनी बताउँछन् ।

 

निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि स्थानीयहरु खुसी छन् । उनीहरु भन्छन्, ‘रास्वपाले दिएको सुविधाको कारण हस्पिटलमा लाइन बसेर जचाउने, औषधी किन्दा भोग्न पर्ने विभिन्न समस्या हटेको छ । यसबाट हरेक वृद्धावृद्धले सेवा लिएका छन् । जसको कारण आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तता दिन आवश्यक छ ।’

शुक्रबार स्वास्थ्य परीक्षण गराएका केहि महिलाले महिलाका लागि सिलाईबुनाई लगाएत विभिन्न सिपमुलक तालिम सञ्चालन गर्न पनि रास्वपालाई आग्रह गरे ।