विश्व समूदायमा प्रचण्ड, के-के बोले ?

काठमाडौं, ६ आश्विन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अमेरिका भ्रमण अघि नै सरकारले उनको भ्रमणको एजेण्डामा शान्ति प्रक्रियाबारे सहयोग माग्ने, जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको विषय राख्ने बताइएको थियो ।

सोही अनुसार प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य, संविधान निर्माण र लोकतन्त्रबारे नेपालको धारणा राखे ।

उनले नेपालको मौलिक शान्ति प्रक्रियाको विषयमा विवेचना मात्रै गरेनन्, शान्ति प्रक्रियाको संक्रमणकाल सक्किएको र द्वन्द्ध पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे । गम्भीर फौजदारी प्रकृतिका अभियोगमा आम माफी नदिने घोषणा गरेका उनले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोग र सुभेच्छाको अपिल गरे ।

जलवायु परिवर्तनले विश्वव्यापी संकट निम्तिने चेतावनी दिएका प्रधानमन्त्री प्रचण्डले नियन्त्रणको समय घर्किन लागेको तर्फ समेत सचेत गराएका छन् । मानवताविरोधी प्रलयकारी परिणाम निम्तिने दाबी गरेका उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता सङ्कटापन्न हिमाली देशले धेरै मार खेपिरहेको भन्दै दुखेसो समेत पोखे ।

महासभालाई सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले विश्व शान्ति, जलवायु परिवर्तन, मानव अधिकार, संविधानवाद्, लोकतन्त्र लगायत विषयमा नेपालको तर्फबाट विषय पेश गरे । विश्वमा शक्तिशाली व्यक्तिहरु सहभागी सम्मेलनमा प्रचण्डले राखेका प्रतिबद्धता र नेपालको अडान अहिलेको युगसम्मत रहेको विश्लेषण भईरहेको छ । तर, शान्ति प्रकियाको बारेमा उनले अन्तराष्ट्रिय मञ्चमा उभिएर गरेको प्रतिज्ञा कति पालना होला भन्ने आम प्रश्न भने कायम छ ।