सल्यानमा जीप दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु

सल्यान, ८ आश्विन । सल्यानमा जीप दुर्घटनामा सवारी धनी र चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका– १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन्। उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो।

आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको डिएसपी कार्कीले जानकारी दिए।