दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन पहल, भ्रमण वर्षमा खुला गर्न स्थलगत अवलोकन

भरतपुर, ८ आश्विन । भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुला गर्न पहल भएको छ । भरतपुर महानगरपालिकाले दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित निकायलाई पत्रचारसमेत गरिसकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार नेपाल ट्रष्टको मातहतमा रहेको दियालो बङ्गलालाई सर्वसाधारणले समेत अवलोकन गर्न पाउने गरी खुला गर्न पहल गरिएको छ । ‘दियालो बङ्गलालाई पर्यटकीय गन्तव्य बनाउन नेपाल ट्रष्ट र पर्यटन मन्त्रालयलाई पत्राचार गरिसकिएको छ’, प्रमुख दाहालले भनिन्, ‘भरतपुर भ्रमण वर्षअगावै खुला गरिदिन ट्रष्ट र पर्यटन मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाइएको छ, यसको जवाफको प्रतीक्षामा बसिरहेका छौँ ।’

प्रमुख दाहालका अनुसार महानगरपालिकाले जिटुजी लिज प्रक्रियाबाट बङ्गलालाई लिएर पुनःनिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । दरबार अहिले जीर्ण बनेकाले यसको पुनःनिर्माण र सौन्दर्यीकरण गरी सर्वसाधारणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीयस्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रक्रिया अघि बढाएको प्रमुख दाहाल बताउँछिन् ।

भरतपुर भ्रमण वर्षको मिति नजिकिँदै आइरहेको बेला भरतपुर महानगर, पर्यटन विज्ञ समूह तथा प्रशासनिक प्रतिनिधिहरुले दियालो बङ्गलाको आइतबार स्थलगत अवलोकनसमेत गरेका छन् । अवलोकनमा ट्रष्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दियालो बङ्गला सर्वसाधारणलाई हेर्न र घुम्नका लागि दशकौँदेखि रोक लगाइएको छ । यसलाई खुला गर्न भरतपुर महानगर भ्रमण वर्षको मुखमा तातेको छ । ऐतिहासिक मह¤वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने विषय यसअघि पनि पटकपटक उठेको थियो, तर मूर्तरुप भने हालसम्म पाउन सकेको छैन ।

भरतपुर भ्रमण वर्ष–२०२४ का कार्यक्रमहरु अगाडि बढाउन महानगरले विभिन्न सुझाव संकलन गर्नेदेखि समितिलाई पूर्णता दिनेसम्मका कामहरु गरिरहेको छ ।

भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले भ्रमण वर्षमै खुला गर्ने गरी पहल गरिएको बताए । उनले भने, ‘नेपाल ट्रष्टका प्रतिनिधिहरु खुलाउन सकारात्मक भएका छन्, कसरी खुला गर्ने भन्ने विषय मात्र बाँकी छ ।’ महानगरले राजाका दरबारसहित सबै पार्क खुलाउनका लागि पहल गरेको उनले बताए । उनले भने, ‘केन्द्र सरकार र स्थानीय सरकारबीचको कुरा हो, यसमा कुनै निजी क्षेत्रको संलग्नता हुँदैन । कुन मोडालिटीमा खुलाउने भन्ने विषय बाँकी छ, तर खुलाउन सबै सकारात्मक छन् ।’

उनले दरबारका केही भौतिक संरचनाहरु पुनःनिर्माण गर्नुपर्ने बताए । उनले भने, ‘भ¥याङहरु निकै कमजोर भएकाले बनाउन खर्च लाग्ने देखिन्छ । एकपटकमा भवनभित्र धेरै पर्यटक पठाउन सकिँदैन, भवन जीर्ण अवस्थामा रहेको छ ।’
आँपटारीनजिकको जंगलको मध्यभागमा रहेको दियालो बङ्गलालाई हाल नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ ।

ऐतिहासिकरुपले निकै मह¤वपूर्ण मानिएको उक्त दरबारमा स्व. राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मले बसोवास गरेका छन् । दियालो बङ्गलामा राजा महेन्द्रको निधन भएको बताइन्छ । हाल नेपाल ट्रष्टको कार्यालयका कर्मचारीले यसको रेखदेख र संरक्षण गरिरहेका छन् । दियालो बङ्गलाको सरसफाइ र रेखदेखमा नेपाल ट्रष्टका पाँच जना कर्मचारी खटिएका छन् ।

२०६४ साल पौष २२ गतेबाट नेपाल ट्रष्ट ऐन जारी गरी राजाका श्रीसम्पत्ति ट्रष्टअन्तर्गत ल्याइएको हो । २०२६ सालमा निर्माण भएको यस बङ्गला राजा र राजपरिवारका सदस्य बस्नका लागि बनाइएको हो । दियालो बङ्गलाको हेरचाह गर्दै आएका देवबहादुर कार्कीका अनुसार बङ्गलामा तीनवटा भवन छन् । ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचमा हालसम्म आएको छैन । दियालो बङ्गला ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ ।