पुष्पा र अञ्जलीलाई बिदाइ

कसरा, ९ आश्विन । कोशीटप्पु वन्यजन्तु आरक्षको लागि चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैँडा पुष्पा र अञ्जलीलाई बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसराबाट मंगलबार बिहान पुष्पा र अञ्जलीलाई बिदाइ गरिएको हो । चितवनबाट बिदाइ भएका गैँडालाई बुधबार कोशीटप्पुमा छाडिने छ । करिब पाँच महिनाअघि जंगलमा छाडिएको गैँडालाई स्थानान्तरणका लागि सोमबार साँझ पुनः समातिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकले गैँडा समातेर खोरमा राखेका थिए । मंगलबार बिहान दुवै गैँडालाई ट्रकमा राखेर पठाइएको हो । दुर्लभ एकसिंगे गैँडाको संख्या वृद्धि गर्ने उद्देश्यले कोशीटप्पुमा पहिलोपटक गैँडा लैजान लागेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

दुवै गैँडा जन्मिएको केही दिनमै आमाबाट छुट्टिएको अवस्थामा फेला पारेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को रेखदेखमा सौराहामा राखिएको थियो । सौराहामा राखिएको ४२ महिनापछि पुष्पा र ३० महिनापछि अञ्जलीलाई प्रकृतिमा छाडिएको थियो ।

एनटिएनसी चितवनका प्रमुख नरेश सुवेदीका अनुसार दुवै गैँडाको स्वास्थ्यावस्थाबारे एक हप्तादेखि निगरानी गरिरहेको थियो । पूर्णरुपमा स्वस्थ रहेकोले पठाउन सहज भएको उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्षमा गैँडाको बासस्थानको लागि एक वर्षदेखि अनुसन्धान गर्दै आएको र उपयुक्त वातावरण देखिएपछि चितवनबाट गैँडा लैजानको लागि स्थानान्तरण प्रकृया अगाडि बढाइएको उनले बताए ।