भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

विनोद अधिकारी 

मेघौली, १० आश्विन ।  भरतपुर महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउँदै छ भने अवलोकनका लागि महानगरभित्रका ३३ पर्यटकीय स्थललाई पर्यटकीय गन्तव्यको रूपमा प्रचार गरिएको छ । भरतपुर भ्रमण वर्षको लागी पश्चिम चितवनको मेघौली गोलाघाट समेतलाई पर्यटकीय गन्तव्य भनी घोषणा गरिएको छ । एकातिर राप्ती नदी अनि अर्को तिर नारायणी नदी बग्दै बग्दै दुवै नदी एकै ठाउँमा मिसिएको ठाउँ हो मेघौली-गोलाघाट ।

भरतपुर देखि करिब २८/३० किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा छुट्टै आनन्द महसुस गर्न सकिन्छ । साँझमा सूर्य अस्ताएको दृश्य नारायणी र राप्ती दुवै नदी मिसिएको ठाउँबाट हेर्दा आफू स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापुजस्तो देखिने मेघौली- गोलाघाट सदरमुकाम भरतपुरदेखि ५५ मिनेट तथा राजधानी काठमाडौँ देखी ६ घण्टाको दूरीमा गाडीबाट १६० किमीको यात्रा गरेपछि पुग्न सकिन्छ ।

साथी, प्रेमी जोडी, वैवाहिक जीवनमा बाँधिएका जोडी रमाइलो गर्ने उद्देश्यले हिँड्ने र गेट टुगेदर मनाउन नयाँ ठाउँ खोज्नेहरूका लागी मेघौली- गोलाघाट उत्कृष्ट गन्तव्य हुनसक्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण मेघौलीमा नौ वटा सामुदायिक वन छन् । नदी, ताल, सिमसार, वनजंगल, घाँसे मैदानभएकाले वन्यजन्तुको बाक्लो उपस्थिति छ । यहाँ घुम्ने पर्यटक लोभिने गर्छन् । पछिल्लो समय पर्यटकहरू पश्चिम चितवनमा केन्द्रित हुने गरेका छन् । मेघौलीमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । यहाँ स्तरीय होटलहरु धेरै छन् ।

नारायणी र राप्तीको दोभानमा रहेको गोलाघाट सूर्यास्त अवलोकनका लागि पनि मेघौली उत्कृष्ट छ । र्‍याफ्टिङ, डुङ्गा सायर, हात्ती सफारी, थारु सांस्कृतिक संग्राहलय,  सांस्कृतिक कार्यक्रम,  बाघ,  गैँडाजस्ता दुर्लभ वन्यजन्तु अवलोकनका लागि पनि मेघौली चर्चित छ ।

आदिवासी, थारु, कुमाल, दराई लगायतका जातजातिको बसोबास रहेको यस क्षेत्रमा आदिवासी मौलिकता झल्किने संस्कृति, सामुदायिक वनमा चराचुरुङ्गी, वन्यजन्तु, सुविधा सम्पन्न होमस्टे तथा होटेलहरूले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । गोलाघाटमा राप्ती र नारायणी मिसिएको ठाउँ भएका कारण पनि त्यो दृश्य हेर्न अनि रमाइलो प्रकृतिसँग रमाउन हजारौँ बाहिरी मुलुकबाट पर्यटकहरू साथै आफ्नै देशका कयौँ जिल्लाबाट हरेक दिन आउने गर्छन् । गोलाघाटमा रहेका होटेलमा नारायणीको मिठो र ताजा माछाका परिकार खान आउने पनि सयौँ भेटिन्छन् । गोलाघाटमा लज, होटेल पनि धेरै नै बनी सकेका छन् । विशेष गरेर बाहिर ठाउँबाट आउनेहरूको लागि ध्यानमा राखेर यहाँ बस्नको लागि राम्रो व्यवस्था मिलाइएको छ । गोलाघाटमा माघे संक्राति अनि एकादशीमा ठुलो मेला लाग्ने गर्छ ।

प्रेमीहरूको लागी मेघौली गोलाघाट उत्कृष्ट गन्तव्य हो भन्नेमा दुई मत छैन । मेघौलीमा आदिवासी जनजातिले वि.सं. २०११ सालमा विकास गरेको रोचक स्थल आँपको बगैँचालाई थिम पार्कको रूपमा संरक्षण एवम् विकास गरिँदै आएको छ । नारायणी र राप्तीको सङ्गमबाट सुन्दर सूर्यास्त अवलोकन गर्न चाहनेहरूका लागी गोलाघाट उत्तम गन्तव्य हो । राफटिंग, हात्ती सवारी, ढुङ्गा सफारी, अफरोड ड्राइभिङ लगायतका पर्यटकीय गतिविधि समेत गोलाघाटमा थपिएको छ ।

भरतपुर वडा नम्बर–२७ र २८ मा मेघौली विमानस्थलसँगै जोडिएका चार वटा सामुदायिक वन क्षेत्रमा करिब ५५० बिघा क्षेत्रफलमा हाल राईनो पार्क निर्माण हुन लागेको हो ।

यहाँ थारु जातिले बनाएको घोगी, चिचर खान आउने मान्छेको चाप पनि धेरै देख्न सकिन्छ । नारायणी र राप्तीका सुन्दर दृश्य हेर्दै आनन्दसँग प्रकृतिको काखमा लडीबुडी खेल्न पाउँदाको अनुभव भिन्न किसिमको रहन्छ । गोलाघाटमा हात्ती सफारी पनि रहेको छ, जसबाट हात्तीमा चढेर जङ्गल अवलोकन गर्न सकिन्छ । गोलाघाटमा चार वटा करोडौँ खर्च गरेर बनाइएका ठुला होटलहरु रहेका छन् । सानातिना होटलहरु सयौँ छन् । अझ विशेष गरी न्यु इयर, नेपाली नयाँ वर्ष, दसैँ तिहारजस्ता पर्वहरूमा गोलाघाटमा देशभित्रकै र देशबाहिरका सयौँ पर्यटकहरू आउने गरेको पाइन्छ । राष्ट्रिय निकुञ्जभित्र गाडीमा बसेर अवलोकन गर्नका लागि पनि व्यवस्था मिलाइएको छ ।

गोलाघाट क्षेत्रमा जाडो मौसममा पिकनिक खान आउनेहरू उल्लेख्य हुन्छन् । वडा नम्बर २८ मा कुमाल जातिको बाहुल्यता छ भने वडा नं. मा २७ मा थारुको । यी जातजातिका सांस्कृतिक नाचगान ठुला होटेलमा व्यावसायिक रूपमा मात्रै देखाइन्छ । सामुदायिक तवरमा त्यसलाई नियमित प्रदर्शन गर्ने प्रबन्ध गरिएको छैन । वडा नम्बर २८ को जितपुर र भगाहामा छिटपुट रूपमा थारु सांस्कृतिक नृत्य हेर्न सकिन्छ ।

भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण वर्ष केवल महानगरको मात्र होइन । नारायणी र राप्तीको बाट सूर्यास्त अवलोकन गर्न प्रकृतिले भरिएको सुन्दर ठाउँ चितवनको मेघौली गोलघाट आउने होइन त घुम्न ?