भरतपुरको यातायात कार्यालयमा ब्रम्हलुट, दिनदहाडै सेवाग्राही लुटिँदा यातायात हाकिम मुकदर्शक

चितवन, ११ आश्विन । निरोगिताको प्रमाणपत्र दिने नाममा भरतपुरको यातायात व्यवस्था कार्यालयमा ब्रह्मलुट भइरहेको छ । सेवाग्राहीलाई सोधेको भरमा तयार हुने निरोगिताको प्रमाणपत्र दिएबापत यातायात कार्यालय छेउमै स्टल राखेका व्यवसायीले ३५० रुपैयाँसम्म लिने गरेका छन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फारम भरेका सेवाग्राहीसँग कार्यालयले आँखा परीक्षण र निरोगिताको प्रमाणपत्र माग्छ । मान्यताप्राप्त चिकित्सकले जारी गरेको प्रमाणपत्र हुनुपर्ने व्यवस्था भएपनि व्यवसायीले मनलाग्दी तरिकाले प्रमाणपत्र जारी गर्ने गरेका छन् ।

व्यवसायीले मनलाग्दी पैसा लिएको गुनासोपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले बुधबार यातायात कार्यालयको निरीक्षण गरे । आधिकारीक निकायको अनुमति बिना निरोगीताको प्रमाणपत्रको मनलाग्दी शुल्क लिएको पाइएपछि १५० रुपैयाँ मात्र लिन निर्देशन दिए ।

निरोगिताको प्रमाणपत्र जारी गर्दा लिन पाउने न्युनतम शुल्क नतोकेको भन्दै सांसद लामिछाने यातायातका हाकिम यातायात कार्यालयका प्रमुख पदमप्रसाद बजगाईसँग झोक्किए । बजगाईले भने कार्यालयले निरोगिताको प्रमाणपत्र दिन आधिकारीकता कसैलाई नतोकेकोले व्यवसायीले लिन पाउने मूल्य पनि निर्धारण नभएको बताए ।

यातायातमा लाइसेन्स वितरण सेवा सुरु हुँदा भरतपुर अस्पतालले निरोगिताको प्रमाणपत्रको २०० रुपैयाँ लिन्थ्यो । अहिले भरतपुर अस्पतालले पनि शुल्क बढाएर ३५० रुपैयाँ लिने गरेको छ । अस्पतालले लिएको शुल्क अनुरुप नै आफुहरुले शुल्क लिएको व्यवसायीहरुले बताए ।

व्यवसायीले लिने शुल्क पारदर्शी छैन । कार्यालयभित्र बाटै निरोगिताको प्रमाणपत्र जारी गर्नका लागि टेण्डर प्रक्रियामा जाने तयारी भइरहेको बजगाईले बताए ।