सात वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टिम, विमानस्थलमा न्यानो स्वागत

हैदरावाद, एजेन्सी । पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक दिवसीय विश्वकप खेल्न बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो। भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।

हैदरावादमा पाकिस्तानी क्रिकेट टिमको न्यानो स्वागत गरिएको छ। विमानस्थल सडकसम्म उत्साहित भीडले पाकिस्तानी टिमको स्वागत गरेको लाइभ मिन्टले उल्लेख गरेको छ। पाकिस्तानी क्रिकेट बोर्डले आफ्नो टिमको विमानस्थलदेखि होटलसम्म भएको स्वागतको भिडिओ सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको छ।

पाकिस्तानी कप्तान आजमले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा हैदरावादमा देखिएको प्रेम र सहयोगले भावुक भएको उल्लेख गरेका छन्। पाकिस्तानले यसअघि सन् २०१६ मा टी-२० विश्वकप भारतमा खेलेको थियो।