नयाँ घरमा पुष्पा र अञ्जली

सप्तरी, ११ आश्विन । चितवनबाट ल्याइएका दुई पोथी गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा छाडिएको छ । मंगलबार बिहान करिब ११ बजे चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ट्रकमा राखेर हिँडाएको पुष्पा र अञ्जली नामका दुई गैँडालाई बुधबार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले स्वागत गरेपछि कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिम सेक्टरअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं–५, पथरीमा निर्माण गरिएको खोर (इन्क्लोजर)मा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको निगरानीमा करिब १५ घन्टाको यात्रापछि पुष्पा र अञ्जलीलाई स्थानान्तरण गरी चितवनबाट बिहान करिब ४ बजे सप्तरी ल्याइएको हो । छ महिनासम्म साँझको समयमा खोरमा राख्ने र दिउँसो वरिपरिको चरन क्षेत्रमा छाडिने छ ।

कोशी टप्पुबाट केही वर्षअघि १४ वटा अर्ना लगिएको थियो । त्यसैको पैँचो तिर्न चितवन राष्ट्रिय निकुञ्जले गैँडा पठाएको हो । चितवनबाट कोशी टप्पुमा दसवटासम्म गैँडा ल्याउन सकिने चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख नरेश सुवेदीले बताए । उनका अनुसार हाललाई दुईवटा पोथी गैँडा ल्याइएको हुँदा वृद्धि विकासका लागि भालेको आवश्यकता पर्ने हुँदा कालान्तरमा भाले गैँडा ल्याउनुपर्ने उनको भनाइ छ ।

कोशी टप्पुमा एक वर्षअघिदेखि अनुसन्धान गर्दा गैँडाका लागि उपयुक्त बासस्थान देखिएपछि चितवनबाट गैँडा स्थानान्तरण गर्ने विषयमा सरकारले निर्णय गरेको हो । सोही आधारमा हाललाई दुईवटा गैँडा ल्याइएको हो । जंगलमा हुर्किएको गैँडालाई स्थानान्तरणका लागि प्रक्रिया झन्झटिलो हुनुका साथै खर्च पनि बढी लाग्ने हुँदा मान्छेकै सहारामा हुर्किएको दुई गैँडालाई स्थानान्तरण गरिएको उनले बताए ।

गैँडाको रेखदेख र ठाउँअनुसारको आनीबानीमा सघाउन सौराहामा दुवै गैँडा हुर्काउँदै आएका लालबहादुर महतरा केही समय यहीँ बस्नेछन् । अर्ना र खर मयूरको राम्रो बसोवास मानिएको कोशी टप्पुमा गैँडाको स्थानान्तरण भएसँगै थप आकर्षण बढ्ने यहाँका स्थानीयले बताएका छन् । कतिपय स्थानीयले भने जंगली जनावरको थप त्रास हुने बताउँदै आएका छन् ।

पुष्पा र अञ्जलीलाई चितवन राष्ट्रिय निकुञ्जले आमाबाट छुट्टिएको अवस्थामा फेला पारेको थियो । प्रकृति संरक्षण कोषमै राखेर हुर्काएको पुष्पालाई ४२ महिना र अञ्जलीलाई ३० महिनाको हुँदा गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको थियो । तिनै गैँडालाई कोशी टप्पु ल्याइएको हो । कोशीमा दुर्लभ एकसिङ्गे गैँडाले पहिलोपटक पाइला टेकेको हो ।

ताजा समाचार