क्रिकेट उपलब्धि : एउटै खेलमा नेपालको ७ कीर्तिमान

काठमाडौँ । चीनको हाउचाउमा जारी १९ औं एशियाली खेलकुदमा नेपालले अहिले सम्म कुनै पनि पदक जित्न सकेको छैन । एशियाडमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी खेलाडी सहभागी भए पनि निराशाजनक प्रदर्शन गरिरहँदा बुधबार भने एउटै खेलबाट सात वटा विश्व कीर्तिमान कायम राखेका छन् ।

असोज ६ गतेदेखि चीनको हाउचाउमा जारी १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट २५३ जना खेलाडीलाई चीन पुगेका हुन् । इण्डोनेसियाको जाकार्ता र पालेङबाङ शहरमा भएको १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ एक मात्र पदक जितेको नेपालले जारी एशियाडमा सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेका बेला बुधबार मंगोलियासँग भएको क्रिकेटमा नेपालले एकै पटक आधादर्जन बढी विश्व कीर्तिमान कायम राख्यो ।

चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा बुधबार भएको पुरुष क्रिकेटमा नेपालले मङ्गोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरी विश्व कीर्तिमान कायम गर्यो । यसअघि टी–२० क्रिकेटमा २५७ रनको फराकिलो जितको कीर्तिमान चेक रिपब्लिकको नाममा थियो । मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिँदा नेपालका लागि त्यही नै सौभाग्य बन्यो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३ सय १४ रन बनायो । टी–२० क्रिकेट इतिहासमै अहिलेसम्मकै उच्चस्कोरको विश्व कीर्तिमान हो ।

३१५ रनको विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३ ओभर १ बलमा मात्र ४१ रनमा अलआउट भयो । मंगोलियाका लागि जम्यासुरेनले १० रन जोड्नुबाहेक अरु ब्याटरले खासै योगदान दिन सकेनन् । नेपालको तर्फबाट करण केसी, अविनास बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट ढालेका थिए । मंगोलियाविरुद्ध प्रारम्भिक ब्याटिङ गर्ने क्रममा बाँया हाते बलर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छुट्टाछुट्टै विश्व कीर्तिमानी कायम राखे । कुशलले ३४ बलमै शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए भने ऐरीले मात्र ९ बलमा लगातार ६ छक्कासहित ८ छक्काको मद्दतमा अर्धशतक पार गरी कीर्तिमानी कायम गरे । यसअघि ३५ बलमा शतक बनाएर दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएको कीर्तिमान कुशलले तोडिदिए ।

ऐरीले पनि भारतका युवराज सिंहको नाममा रहेको अर्धशतकको कीर्तिमान तोडिदिएका हुन् । यसअघि १२ बलमा अर्धशतक बनाएको रेकर्ड युवराजको नाममा थियो । यस्तै, ऐरीको ६ बलमै ६ छक्का प्रहारको पनि विश्व कीर्तिमान बनेको छ । मंगोलियासँगको खेलमा कुशलले १२ छक्का र ८ चौका तथा दीपेन्द्र ऐरीले ८ छक्का प्रहार गरेका थिए । नेपाललाई जित दिलाउने क्रममा कुशलले ५० बलमा अविजित १३७ तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१ रन बनाउँदा कुशल भुर्तेलले २३ बलमा १९ रन जोड्दा आसिफ शेखले १७ बलमा १६ रनको योगदान गरेका थिए । नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रनको ठूलो योगफल बनाएर स्कोरमा विश्व कीर्तिमान कायम गर्यो । यसअघि टी–२० क्रिकेटमा २७८ रनको योगफलको कीर्तिमान अफगानिस्तानको नाममा थियो । सन् २०१९ मा आयरल्याण्ड विरुद्धको टी–२० क्रिकेटमा अफगानिस्तानको २७८ रनको योगफल बनाएको थियो ।

पुरुषतर्फ पहिलो क्रिकेटमा विभिन्न विश्व कीर्तिमान कायम राख्दै सानदार प्रदर्शन गरेको नेपालले अब समूह चरणको अर्को खेल माल्दिभ्ससँग खेल्ने छ । समूह विजेता बनेमा नेपाल क्वार्टर फाइनल प्रवेश गर्नेछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश चार टिम यसअघि नै सिधै क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् । जारी एशियाली खेलकुदमा नेपाल अहिलेसम्म पदकविहिन भए पनि क्रिकेटमा भएको पहिलो प्रदर्शनले खेलप्रेमीहरुलाई उत्साह जगाइदिएको छ ।