चौतारीको भवन निर्माणका लागि उपमेयर उप्रेतीले गरिन् आर्थिक सहयोग

खैरहनी, ११ आश्विन  । खैरहनी नगरपालिकाका उपमेयर कविता उप्रेतीले प्रेस चौतारी चितवनको भवनका लागि आर्थिक सहयोग गरेकी छन् । उपमेयर उप्रेतीले भवन निर्माणका लागि बुधबार नगद २५ हजार रुपैयाँ सहयोग गरेकी हुन् । चौतारीका जिल्ला सचिव ध्रुवराज खनाललाई उपमेयर उप्रेतीले सो रकम हस्तान्तरण गरेकी थिइन् ।

भरतपुर महानगरपालिका वडा नं ११ बसेनीमा चौतारीको भवन निर्माण भइरहेको छ । सो भवन प्रेस चौतारीको देशकै पहिलो भवन हो । देशभरका चौतारीमध्ये चितवनले पहिलोपटक भवन निर्माण गरिरहेको चौतारी सचिव खनालमार्फत थाहा पाएर सहकार्य गरेको उपमेयर उप्रेतीले बताइन् ।

चौतारीको भवन निर्माण भए पनि सबैले साझा अपनत्व ग्रहण गरेको भन्दै उपमेयर उप्रेतीले आर्थिक सहयोग गरेकोमा सचिव खनालले धन्यवाद दिए । जनप्रतिनिधिले गरेको सहयोगले संगठनलाई हौसला, उत्प्रेरणा र ऊर्जा मिलेको उनले बताए।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झन्डै १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको काम सकिएर दोस्रो तल्लाको काम सुरू भएको छ । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।