जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने

काभ्रेपलान्चोक, ११ आश्विन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ । काभ्रेपलान्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उहाँले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर पनि गर्नुभयो । “हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरूका काममा साथ दिन चाहन्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ”, पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेले भन्नुभयो ।
 उहाँले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आऊ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले भन्नुभयो, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।” उहाँले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिनुभयो। “हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरूले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउनुहुन्छ ।”
रास्वपाले भ्रष्टाचारलगायत  आपराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकै पटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताउनुभयो । “हामी आम नागरिकलाई सास्ती हुने गरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईँले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताउनुभयो । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललगायतले नगर भेलालाई शुभकामना दिनुभएको थियो ।