सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा

काठमाडौं, ११ आश्विन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज (बिहीबार) यहाँ आयोजना गरेको गोष्ठीमा उहाँले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यति बढी जनता सशक्त हुने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुँच पुर्‍याउन सहयोग गर्छ ।” सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनु आजको आवश्यकता रहेकामा उहाँको जोड थियो । सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भन्नुभयो ।

“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनधिकृत पहुँच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भन्नुभयो । यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताउँदै आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गर्नुभयो । उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले ‘अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवा र आयोगका आयुक्त रत्नप्रसाद मैनलीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गर्नुभएको थियो । रासस