प्रेस चौतारी चितवनको भवन निर्माणमा युवा व्यवसायी सिग्देल र पत्रकार काफ्लेको आर्थिक सहयोग

चितवन, ११ आश्विन । चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । भवन निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगर कमिटीका सचिव एवम् युवा व्यवसायी सुलभ सिग्देलले ११ हजार १ सय ११ र हाल माल्टामा रहनुभएका युवा पत्रकार विप्लव काफ्लेले ५ हजार ६५ सहयोग गर्नुभएको छ ।

युवा व्यवसायी सिग्देलले भवन निर्माण स्थलमा नै पुगेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा सिग्देलले श्रमजीवी पत्रकारहरूको सङ्गठनले आफ्नो भवन बनाउँदै गर्दा सहयोग गर्न पाउँदा खुसी मिलेको बताउनुभयो । उहाँले फरक आस्था र विचार भए पनि त्यसभन्दा माथि उठेर सहयोग गरेको भन्दै पत्रकारहरूको संस्थागत विकास र दक्षता वृद्धिमा भवनले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, पत्रकार काफ्लेले भवन निर्माणका लागि सहयोग गर्ने अठोट मनमा आएको भन्दै पत्रकारहरूको भवन बन्दा आफूलाई खुसी मिलेको बताउनुभयो । उहाँले सबैले आआफ्नो ठाउँबाट चौतारीको भवनका लागि सहयोग गर्न अपिल गर्नुभयो । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने दुवै जनालाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भवनका लागि हौसला मिलेको बताउनुभयो । समाजसेवी केशव कार्कीले चौतारी चितवनलाई करिब ७० लाख पर्ने १० धुर जग्गा दानमा उपलब्ध गराउनुभएको थियो ।

सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको पहिलो तलो ढलानको काम सकेर भित्र फिनिसिङको काम भइरहेको छ । यस्तै, भवनको दोस्रो तला ढलानको तयारीसमेत सुरु गरिएको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिनुभयो । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत वर्ष वृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूले सहयोग गर्दै आएका छन् । भवनको भुईँ तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।