भरतपुरमा न्यूरोसम्बन्धी विशेषज्ञहरुले दिए मस्तिष्कघातबारे सचेतना

चितवन, १३ आश्विन । भरतपुरमा ग्राण्डी अस्पताल काठमाडौँका चिकित्सकहरुले मस्तिष्कघातबारे सचेतना दिएका दिएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा भएको कार्यक्रम नेपाल स्ट्रोक एशोसिएसनको सहकार्यमा भएको हो ।

कार्यक्रममा ग्राण्डी अस्पतालका न्यूरो फिजिसिएन डा रामचन्द्र सुवेदी र नरेश खरबुजाले मस्तिष्कघातको उपचार र यसबाट बच्न सकिने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले संयोजन गरेको कार्यक्रममा चिकित्सकहरुले मस्तिष्कघातका लक्षणहरु, उपचार विधि र रोकथामका उपायहरुबारे जानकारी गराएका छन् । उनीहरुले मस्तिष्कघातबारे इमरजेन्सी उपचार गराउनु परेमा कम्तीमा एमआरआई र सीटीस्क्यान भएको अस्पतालमा लैजानुपर्ने सुझाव दिएका छन् । क्याम्पसका क्याम्पस प्रमुख खिम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले चिकित्सकहरुसँग प्रश्नोत्तर गरे । प्रश्नोत्तरमा हात लुलो हुने, आँखा, कान दुख्ने, जिब्रो लरबरिने जस्तो मस्तिष्कघातको लक्षण हुने भएकोले सर्तक रहनुपर्ने चिकित्सकहरुले बताएका छन् । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा मुख्य अतिथि रहेका थिए भने कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, विद्यार्थी, कर्मचारीहरु र समाजका विभिन्न क्षेत्रमा कार्यरत झण्डै ७० जनाको सहभागिता रहेको छ ।