पूर्व विद्यार्थी दवाडीले जन्मोत्सवको अवसरमा गरे २ लाख सहयोग

दिव्यनगर, १४ आश्विन । पश्चिम चितवनको भरतपुर २६ स्थित आदर्श माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मुक्ति दवाडीले आफ्नो ५४ औँ जन्मोत्सवको अवसरमा आफूले स्थापना गरेको शुभ जन्मोत्सव अक्षयकोषमा हाल रु ५० हजार सहयोग गर्नुभएको छ । दवाडीले आदर्श शुभ जन्मोत्सव अक्षयकोषमा ५० हजार थप गरी २ लाख पुर्‍याउनु भएको विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईँले जानकारी दिनुभयो ।

आइतबार विद्यालय परिसरमा सम्पन्न कार्यकममा दवाडीले रकम सहयोग गर्नुभएको हो । विगत लामो समय देखि विद्यालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुसी भएको बताउँदै दवाडीले अगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने बताउनुभयो । विद्यालयमा सञ्चालन हुने शिक्षण कार्यक्रमलाई सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गरेको बताउँदै दवाडीले आर्थिक अवस्था कमजोर भएका विद्याथीले अक्षयकोष बाट लाभ लिन सक्ने जानकारी दिनुभयो ।

आदर्श शुभ जन्मोत्सव अक्षयकोष बारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक चापागाईँले पूर्व विद्यार्थीहरूको योगदान आवश्यक रहेको बताउनुभयो । कोष बढाउने गरी अहिले सानो रकमबाट सुरु गरेको बताउँदै प्रधानाध्यापक चापागाईँले अगामी दिनमा पनि पूर्व विद्यार्थीहरूको साथ र सहयोगको आवश्यक रहेको बताउनुभयो । अक्षयकोषमा रकम थप गरेर गरिब असहाय तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयका सम्पूर्ण शुभ चिन्तकहरूले आफ्नो इच्छा अनुसार उक्त कोषमा रकम थप गर्न सक्ने समेत जानकारी दिनु भयो ।

दवाडीको आर्थिक सहयोगमा जन्मोत्सवको खुसीयालीमा विद्यालयका विद्यार्थीहरूलाई केक, चकलेट समेत वितरण गरिएको थियो ।

ताजा समाचार