‘स्मार्ट मिटर’ जोड्दै प्राधिकरण : महसुल बुझाउन मोबाइलमै बिल

भरतपुर, १७ आश्विन । नेपाल विद्युत् प्राधिकरणले ‘थ्री फेज’को लाइनमा पुरानो मिटर हटाई ‘स्मार्ट मिटर’ जडान गरेको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न स्मार्ट मिटर प्रयोगमा ल्याइएको प्राधिकरणले जनाएको छ । चितवन जिल्लामा त्यस्ता दुई हजार मिटर प्रतिस्थापन गरिसकिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

‘चितवनमा करिब दुई हजारवटा मिटर रिप्लेस गरिसकेका छौँ । अब एक हजार मिटर रिप्लेसको क्रममा छ’, केन्द्र प्रमुख रामु श्रेष्ठले भने, ‘किनकि अब हामी स्मार्ट युगमा छौँ । बिस्तारै हरेक क्षेत्रलाई स्मार्ट बनाउने प्रयासमध्ये यो पनि एउटा हो ।’ उनका अनुसार हाल ६५ केभिएसम्मको मिटर प्राधिकरणकै खर्चमा प्रतिस्थापन गरिएको हो । उनका अनुसार ६५ केभिएभन्दा माथिको मिटरको विषयमा प्राधिकरणले कुनै निर्णय गरेको छैन ।

‘पुरानो मिटर हटाएर नयाँ स्मार्ट मिटर प्रतिस्थापन गर्दा करिब २० देखि २२ हजार रूपैयाँसम्म खर्च आउँछ । तर, त्यो सबै प्राधिकरणले नै बेहोरेको छ’, केन्द्र प्रमुख श्रेष्ठले भने । नयाँ मिटरमा सिमको प्रयोग हुने हुँदा प्राधिकरणबाटै त्यसको निगरानी गर्न सकिने उनले बताए । स्मार्ट मिटर प्रतिस्थापन गरेपछि ‘रिडर’को आवश्यकता नपर्ने हुँदा सबैभन्दा सजिलो किसानले प्रयोग गर्ने सिंचाइको मिटर रिडिङमा भएको छ ।

स्मार्ट मिटर जडान गरेपछि प्राधिकरणबाटै विद्युत् खपत युनिट हेर्न मिल्ने र मोबाइल तथा इमेलमार्फत सम्बन्धित प्रयोगकर्तासमक्ष बिल पु¥याउन सकिने मिटर हेर्ने कर्मचारीको आवश्यकता नपर्ने उनले बताए । ‘सिंचाइका लागि प्रयोग हुने मिटर हेर्न खेतमा पुग्नुपर्ने समस्यामा सबैभन्दा फाइदा पुगेको छ’, उनले भने, ‘यसअघिसम्म खेतमा पुगेर मिटर रिडिङ गर्ने विषय ज्यादै झन्झटिलो थियो ।’

सेवाग्राहीलाई मोबाइलमै सबै जानकारी पुग्ने हुँदा यसबाट सेवाग्राही र प्राधिकरण दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ । प्राधिकरणबाटै हेर्न मिल्ने भएपछि मिटर रिडिङमा हुने गरेको ढिलासुस्तीका गुनासासमेत हट्ने उनले बताए । ‘प्राधिकरणमा सीमित कर्मचारीको भरमा काम गर्न सकिने भएपछि जनशक्ति पनि पर्याप्त चाहिएन’, उनले भने । समयमै महसुल नबुझाउने सेवाग्राहीलाई कारबाही गर्न पनि यसले सहज बनाएको उनले बताए ।

उनका अनुसार केन्द्रबाटै ठेक्का भएको हुँदा चितवनमा जिल्लाको प्राधिकरणले समन्वयमात्रै गरेर काम भइरहेको भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए । चितवन पाेष्ट